१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसद् बैठक स्थगित भएपछि साझा रणनीति बनाउन छलफलमा विपक्षी दल

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को विवादास्पद अभिव्यक्तिको विषयमा साझा रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।

प्रतिनिधिसभाको बैठक अवरुद्ध भएर स्थगित भएलगत्तै कांग्रेसले सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा दिउँसो ३ः१५ बजेका लागि बैठक डाकेको हो।

बैठकमा प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका सबै दलका प्रमुख सचेतक र सचेतकहरूलाई आमन्त्रण गरिएको छ।

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादामा आँच पुर्‍याएको ठहर गर्दै विपक्षी दलहरूले सदनमा विरोधलाई थप सशक्त बनाउने तयारी गरेका छन्।

यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा र स्पष्टीकरण माग गर्दै नाराबाजी गरेपछि सदनको कारबाही प्रभावित भएको थियो।

विपक्षीको अवरोध र होहल्लाका बीच सभामुख डोलप्रसाद अर्यालले बैठक सुचारु गर्न प्रयास गरे पनि स्थिति नियन्त्रणमा नआएपछि आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।

प्रकाशित: २६ जेष्ठ २०८३ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App