२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

दुई मन्त्रीको शपथ अपराह्न ४ बजेपछि

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन्।

प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको तयारी पूरा गरेको छ।

प्रधानमन्त्री बालेनले गृह मन्त्रालयको जिम्मेवारी पुनः सुधन गुरुङलाई सुम्पिएका छन् भने नवप्रवर्तनमन्त्रीका रूपमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीद्वयको शपथ ग्रहण कार्यक्रम मंगलबार अपराह्न ४ः३० बजे शीतल निवासमा तय गरिएको छ।

यसअघि शपथ ग्रहणको समय दिउँसो ३ बजेका लागि तोकिएको भए पनि केही प्राविधिक तयारीका कारण डेढ घण्टा ढिलो गरी कार्यक्रम हुन लागेको हो।

यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए। गुरुङको सम्पत्ति छानबिन गर्न सरकारले गठन गरेको विशेष समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ।

समितिले क्लिन चिट दिएसँगै उनलाई पुनः गृह प्रशासनको कमान्ड सम्हाल्ने गरी सरकारमा फर्काइएको हो।

यस्तै, नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका महावीर पुन स्वतन्त्र सांसद हुन्। उनी यसअघि सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारमा शिक्षामन्त्रीका रूपमा कार्यरत थिए।

प्रकाशित: २६ जेष्ठ २०८३ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App