मम्स इन्टरनेसनल नेपालले ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा र उदयीमान कराते खेलाडी याङ्तेन लामालाई सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बुधबार आयोजित कार्यक्रममा नेपाली कराते खेलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सुनिल र याङ्तेनलाई सम्मान गरिएको हो।
सुनिल लामा बंगलादेशमा सम्पन्न ११औँ साग तथा १३औँ एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता हुन्। अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई सफलता दिलाउन निरन्तर योगदान पुर्याउँदै आएका सुनिलको खेल यात्रा र समर्पणको सम्मान गर्दै मम्स इन्टरनेसनल नेपालले उनलाई सम्मान गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि चर्चित सांगीतिक समूह एक्स ब्यान्डका ड्रमर सुरेन्द्र श्रेष्ठ र मम्स इन्टरनेसनल नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रन्जिता लामाले सुनिल र याङ्तेनलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरे।
त्यस्तै, १३औँ सागका दोहोरो स्वर्ण पदक विजेता तथा राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय कराते खेलाडी सुमन तिमल्सिनाले पनि दुवै खेलाडीलाई खादा ओढाउँदै बधाई दिएका थिए।
बाबुको बाटो पछ्याउँदै याङ्तेनको उदय
उदीयमान खेलाडी याङ्तेन लामा सुनिल लामाका छोरा हुन्। विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्दै आएका याङ्तेनलाई पनि कार्यक्रममा सम्मान गरिएको हो।
हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका सुनिल लामाले काठमाडौंको रानीवनमा ‘च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमी’ स्थापना गरी कराते खेलको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
मम्स इन्टरनेसनल नेपालकी सीईओ रन्जिता लामाले नेपाली करातेका स्थापित खेलाडी सुनिल र उदीयमान खेलाडी याङ्तेनलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु संस्थाका लागि खुसीको क्षण भएको बताइन्।
उनले च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले नेपालबाट अमेरिका पुग्ने खेलकर्मीलाई स्वागत तथा सत्कार गर्दै आएको योगदानको प्रशंसा गरिन्।
सम्मान कार्यक्रममा सुनिल लामाले आफू र छोराको खेल उपलब्धिको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेकोमा मम्स इन्टरनेसनल नेपाल परिवारप्रति आभार व्यक्त गरे।
प्रकाशित: १३ श्रावण २०८३ २२:०० बुधबार





