इरानको फुटबल महासंघले संयुक्त राज्य अमेरिकाले आफ्नो टोलीको विश्वकप समूह खेलहरूको टिकट बाँडफाँड रद्द गरेको बताएको छ।
महासंघले सह–आयोजक अमेरिकाले तीतो कूटनीतिक विवादको आँडमा इरानी समर्थकहरूलाई टिकट नदिएको आरोप लगाएको छ।
‘२०२६ को विश्वकप सुरु हुन तीन दिनभन्दा कम समय बाँकी रहँदा..संयुक्त राज्य अमेरिकाले फेरि एक पटक राष्ट्रिय टोलीको समूह चरणका तीन खेल आयोजना गर्ने रंगशालामा इरानी समर्थकहरूको उपस्थितिमा अवरोध पुर्याउने कदम चालेको छ,’महासंघले मंगलबार एक विज्ञप्तिमा भनेको छ।
अमेरिकाले विश्वव्यापी फुटबल कार्यक्रममा इरानका लागि धेरै बाधाहरू प्रस्तुत गरेको उनीहरुको भनाइ छ। सहयोगी कर्मचारीहरूलाई भिसा जारी गर्न अस्वीकार गर्नु देखि फ्यानहरुलाई प्रवेश नदिने कदममा अमेरिकाले गलत गरेको महासंघको भनाइ छ।
इरानी फुटबल संस्थाले फिफाको नियमअनुसार प्रत्येक खेलको लागि ८ प्रतिशत टिकट छुट्याउनुपर्ने बताएको छ। जुन सहभागी संघहरूलाई आधिकारिक माध्यमबाट आफ्ना समर्थकहरूलाई वितरणको लागि दिइन्छ।
विज्ञप्ति अनुसार एफएफआइआरआईले आफ्नो कोटा प्राप्त गरेपछि न्युजिल्याण्ड, बेल्जियम र इजिप्टविरुद्धको समूह चरणका खेलहरूको टिकट बिक्री सुरु गरिसकेको छ। अमेरिकामा आयोजना हुने उक्त खेलमा फ्यानहरूले पहिले नै आवश्यक व्यवस्था गरिसकेका छन्।
‘यद्यपि अमेरिकाको एक अप्रत्याशित कदममा इरानी फुटबल संघलाई दिइएको आवंटन फिर्ता लिइएको छ र वर्तमान परिस्थितिमा महासंघले राष्ट्रिय टोलीका समर्थकहरूलाई एउटा पनि टिकट वितरण गरेको छैन,’ महासंघले भनेको छ।
एफएफआइआरआईले यो कदमलाई ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूलाई नियन्त्रण गर्ने भावना र सहभागी देशहरू बीच समानताको सिद्धान्त विपरीत’ भनेर वर्णन गरेको छ।
यसले फिफा र प्रतियोगिता आयोजकहरूलाई ‘इरानी समर्थकहरूका लागि आवश्यक अवस्था प्रदान गर्न तटस्थता, निष्पक्षता र स्थापित नियमहरूको सिद्धान्तहरूलाई कायम राख्न’ पनि आह्वान गरेको छ।
इरानी आरोपबारे फिफा र अमेरिकी आयोजकहरूले भने सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।
इरानले प्रतियोगिताको सुरुवात जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग गर्नेछ भने जुन २१ मा सोही शहरमा बेल्जियम र जुन २६ मा सियाटलमा इजिप्टसँग खेल्नेछ।
प्रकाशित: २६ जेष्ठ २०८३ १५:३१ मंगलबार





