२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

यु–१९ महिला राष्ट्रिय क्रिकेट : सुदूर र मधेसको लगातार जीत

घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार व्यहोर्दा मधेशले लगातार दोस्रो जीत हात पारेको छ। उता, सुदूरपश्चिम प्रदेशले पनि अहिलेसम्म खेलेका तीन वटै खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ।

सोमबार कालुङचोक मैदानमा कर्णालीविरुद्धको खेलमा मधेसले नौ विकेटको फराकिलो अन्तरले जित्यो। आफ्नो पहिलो खेलमा कोशीमाथि रवाफिलो जीत निकालेको मधेस लगातार दोस्रो जीतसँगै महत्वपूर्ण चार अंक प्राप्त गरेको छ।

पहिले ब्याटिङ गरेको कर्णालीले चार विकेटको क्षतिमा १०२ रन बनाएको थियो। १०३को लक्ष्य पाएको मधेसले ९.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।

घरेलु मैदानमा कर्णालीलाई सम्मानजनक स्कोरसम्म पुर्याउन कप्तान तिर्सना विश्वकर्माले नटआउट ४९ रनको पारी खेल्दा उमा चौधरीले ३३ रन जोडिन्।

ओपनर सरिता विष्ट पहिलो ओभरमै एक रन जोडेर आउट भएपछि दोश्रो ओभरमा अर्की ओपनर सोविता शाही साक्षी यादवको बलमा शून्यमै आउट हुन पुगिन्।

छैठौं ओभरको खेल सकिंदा शिखा दुवाडी पनि ५ रनमा डगआउट भएर फर्किएपछि कमजोर बनेको कर्णालीलाई तिर्सना र उमाले १०२ रनको सम्मानजनक स्कोरसम्म पुर्याए। उनीहरुले चौथो विकेटका लागि ८६ रनको साझेदारी गरे।

अर्धशतक पूरा गर्नबाट जम्मा १ रनले चुकेकी तिर्सनाले ६५ बलको सामना गर्दा ३ चौकासहित ४९ रन बनाइन्। अर्को छेउबाट साथ दिएकी उमाले ३३ बलमा ४ चोकासहित २९ रन जोडिन्।

जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि ओपनरद्वय सना प्रविनले नटआउट ४४ र अलिशा यादवले ४७ रन जोड्दै आठौं ओभरसम्म साझेदारी गर्दै मधेसको जीत सुनिश्चित गरे।

पहिलो खेलमै अर्धशतकीय पारी खेलेकी सनाले २१ बलमा ९ चौका र अलिशाले ३३ बलमा ८ चौका र एक छक्कासहित ४७ रन बटुलेर जीतको आधार तयार गरे।

आक्रामक खेल्दै अर्धशतकतिर लम्किएकी अलिशालाई आठौं ओभरको चौथो बलमा कर्णालीकी समीक्षा बिसीले एलबीडब्ल्यू धरापमा पारिन्।

यस्तै, वीरेन्द्रनगर मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८ विकेट पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीको लागि ओपनर अञ्जी पाठकको ७६ र आशना चौधरीको २४ रनको मद्दतमा ५ विकेट गुमाएर १४१ को स्कोर बनाएको थियो। लुम्बिनीका अरु ब्याटरले दोहोरो आँकडा छुन सकेनन्।

३१ रन अतिरिक्त खर्चिदै कमजोर बलिङ गरेको सुदूरका लागि ओपनरहरुले नै जीतका लागि १३२ रनको साझेदारी गर्दै बलियो जग बसाले।

प्लयेर अफ दि म्याच बनेकी सावित्री धामीले ४५ बलमा एक छक्का र ११ चौकासहित नटआउट ७६ रन बनाइन्। दोस्रो क्रमकी करुणा विष्टले पनि चार चौकासहित ४० बलमा ४५ रन बटुलिन्।

पूर्वेली टोली कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगिताको शुरुवात गरेको सुदूरपश्चिमले दोस्रो खेलमा बागमतीलाई पराजित गरेको थियो। आजको जीतसँगै सुदूरपश्चिम छ अंक जोडेर शीर्षस्थानमा उल्किएको छ।

प्रकाशित: २५ जेष्ठ २०८३ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App