२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली-विद्याको 'च्यासल वार्ता': के सहमति भयो, कसलाई के थाहा?

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा झन्डै दुई घण्टा वान् अन वान् वार्ता भयो तर, वार्तापछिका सहमति बाहिर आएनन्। वार्ता सकिएपछि विद्याले संक्षिप्त प्रतिक्रिया दिँदै समसामयिक विषयमा कुराकानी भएको बताइन्। ओली त बोल्दै नबोली हिँडे। अरु एमाले नेताहरूले लख काटे— वार्ता सकारात्मक नै भयो होला, बडी ल्याङ्ग्वेज राम्रै देखियो।

तर, वास्तविक अर्थमा वार्तापछि यही सहमति भयो भन्नेबारे भने विषय बाहिर आएनन्। त्यसो त अनुमान लगाउन गाह्रो छैन कि उनीहरूका बीचमा पार्टीभित्रैका समस्याहरूबारे छलफल भयो। तर, त्यसको निचोडबारे भने ओली-विद्याको ‘च्यासल वार्ता’ मौन नै रह्यो। 

च्यासलमा विद्या र ओली।

भन्दा धेरै विषयहरू भए पनि अहिलेको समस्या ‘ओलीको अध्यक्षमा तेहेरिने दाउ’ र ‘विद्याको नेतृत्वमा स्थापित हुने चाहना’ नै हो। यसकै वरिपरि विषयहरू घुमिरहेका छन्। ओलीले आफूअनुकूल पार्टी विधान संशोधन गर्दैछन् भने विद्या ‘सजिलो छाड्दिनँ’ भन्ने छनक दिँदै सक्रिय भइरहेकी छन्।

यसमा पनि अहिले मुख्य रूपमा खड्किएको विषय विद्याको पार्टी सदस्यताको विषय हो। शनिबार (हिजो) सकिएको पार्टीको पोलिटब्यूरो बैठकले उनको सदस्यता ‘पेन्डिङ’ रहेको भन्दै उचित समयमा उचित निष्कर्ष निकाल्ने निर्णय गर्‍यो। अध्यक्षको दाबी प्रस्तुत गरिरहेकी विद्यालाई त्यो कुराले झस्कायो र लगत्तै पार्टी अध्यक्ष ओलीलाई भेट्ने प्रस्ताव फालिन्। त्यो पनि पार्टी मुख्यालय च्यासलमै। सुरुमा ओलीले प्रधानमन्त्री सरकारी निवास बालुवाटर नै बोलाएका थिए तर, उनले च्यासलमै गरौँ भनेर प्रति-प्रस्ताव गरिन्। त्यसमा ओलीले सहमति जनाएपछि उनीहरूबीच आज अपराह्न दुई घण्टा लामो वार्ता भयो। तर, मुख्य सहमतिको विषय बाहिर आएन।

तर, एमाले नेता राजन भट्टराईका अनुसार भने ओली-विद्या वार्तामा ‘हाम्रा दुईका बीचमा मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ, सहमतिमा हुन्छ, दरार पार्न खोजेर सम्भव छैन’ भन्ने निष्कर्ष निस्केको छ। अर्का नेता कर्ण थापा भने वान् अन वान् वार्ता भएकाले वार्ताका निष्कर्षबारे किन ओलीलाई कि विद्यालाई नै थाहा हुने बताए। नेताहरूका अनुसार वार्तामा ओली र विद्या मात्रै भए पनि त्यसअघि विद्याले आफू निकटका नेताहरूसँग केहीबेर संवाद गरेकी थिइन्। तर, वार्ताको निष्कर्षबारे भने कोही नेताहरूले बताउन चाहेनन् वा उनीहरूलाई थाहै थिएन।

वार्तापछि बाहिरिने क्रममा ओली-विद्यासहितका नेता।

यति कुरा- अन्तिममा ओली-विद्या मुस्कुराउँदै सँगै बाहिरिए। ओलीतिर महासचिव शंकर पोखरेल उभिँदा विद्यातिर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उभिएका थिए। ओली-विद्या सँगै हाँस्दै बाहिरिएको देखेर अन्य एमाले नेताहरूले वार्ता उपलब्धिमूलक भएको अनुमान लगाए। 

त्यसो त भोलि एमालेको केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा पार्टीमा यसअघि कायम रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी पटक अध्यक्ष बन्न नपाइने प्रावधान हटाइएको प्रस्तावित विधान प्रस्तुत हुँदैछ भने विद्याको सदस्यताबारे पनि छलफल हुँदैछ। त्योभन्दा अगावै विद्या ओली खोज्दै च्यासल पुगेकी हुन् तर, त्यसबारे के सहमति भयो भन्ने विषय गर्तमै रह्यो।

प्रकाशित: ४ श्रावण २०८२ २१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App