पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगमा पदाधिकारीहरू पूर्ण नहुँदा जटिल निर्णय प्रक्रियामा जोखिम बढ्ने र सामूहिक जिम्मेवारीको भावना कमजोर हुने बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै पोखरेलले आयोगको नेतृत्व ‘कार्यवाहक’ को भरमा चल्दा संस्थाको मनोबल र कार्यक्षमतामा असर पर्न सक्ने टिप्पणी गरे।
पोखरेलले आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तहरूको पद रिक्त राखी कार्यवाहकको भरमा निर्वाचन गराउँदा ‘फुल फ्लेजेज’ (पूर्ण अधिकारसहितको) पदाधिकारीले जस्तो आँट गर्न नसक्ने बताए।
‘स्वभाविक रूपमा पूर्ण अधिकारसहितको पदाधिकारी हुँदा एक किसिमको आँट हुन्छ। तर कार्यवाहक हुँदा भोलि मलाई हटाएर अर्को ल्याइदिन्छ कि, अरूले नटेर्ने हुन् कि वा मेरै टिमले सहयोग नगर्ने हो कि भन्ने मनोविज्ञान रहन्छ,’ पोखरेलले भने, ‘अप्ठ्यारो परिस्थितिमा एक्लै निर्णय लिनुभन्दा टिम हुँदा ‘रिस्क सेयर’ (जोखिम बाँडफाँड) हुन्छ। अहिले आयोग आफैँमा पूर्ण नहुनु एउटा चुनौती हो।’
उनद संविधान निर्माणका क्रममा आफूले धेरै आयुक्त राख्दा झन्झट हुने भन्दै सानो छरितो टिम बनाउन सुझाव दिएको स्मरण गर्दै, अहिले भएको संरचना पनि पूर्ण नहुनु दुखद भएको बताए।
निर्वाचन आयोगको भूमिकालाई प्रस्ट्याउँदै पोखरेलले आयोग ‘अर्केस्ट्राको कन्डक्टर’ जस्तै भएको बताए। उनका अनुसार नाच्ने (दल र उम्मेदवार) धेरै भए पनि उनीहरूलाई एउटा लयमा हिँडाउने काम आयोगको हो।
‘निर्वाचन आयोग मुलुकको फोकल पोइन्ट हो, केन्द्रबिन्दु हो। उसले इशारा गर्नुपर्छ, भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘त्यो अर्केस्ट्राको भूमिका निर्वाह गर्दा मात्र निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन्छ।’
प्रकाशित: ७ माघ २०८२ २०:०६ बुधबार





