२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चुनावी एजेण्डामै सीमित खड्कबार-घुइँयाबारी सडक

फाइल तस्बिर

बाँकेको कोहलपुर नगरपालिका अन्तर्गत चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेशीय पर्यटकीय मार्ग निर्माणको विषय फेरि चुनावी एजेण्डामै सीमित बनेको छ।  

प्रत्येक निर्वाचनमा राजनीतिक दलहरूले खड्कबार–घुइँयाबारी सडक निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए पनि निर्माण कार्य भने अघि बढ्न सकेको छैन। विसं २०१५ देखि नै चुनावी नारा बन्दै आएको यो सडकलाई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उम्मेदवारहरूले एजेण्डा बनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले कोहलपुर–चप्परगौडी–खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने सडक निर्माणले बाँके र सल्यानका बासिन्दाको आर्थिक जीवनस्तर उकास्ने बताएका छन्। उनका अनुसार यो सडक सञ्चालन भए पहाडी क्षेत्रको उत्पादन तराईमा र तराईको उत्पादन पहाडमा सहज रूपमा पुर्‍याउन सकिनेछ। 

त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार नारायण गौडेलले पनि सडक निर्माणका लागि आफूले पहल गर्दै आएको बताएका छन्। विगतमा बजेट विनियोजनको माग गर्दै पदयात्रासमेत गरिएको स्मरण गर्दै उनले सडक निर्माणलाई चुनावी प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार खड्कबार हुँदै सल्यानको घुइँयाबारी पुग्न २० किलोमिटरभन्दा कम दूरी पर्छ। उनले यस सडकको परिकल्पना कांग्रेसका संस्थापक बिपी कोइराला ले गरेको दाबी गरेका छन्।

अन्य दलका उम्मेदवारहरूले पनि सडक निर्माणलाई एजेण्डा बनाएका छन्। नेपाल कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी का सुरेश चौधरी तथा प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले खड्कबार–घुइँयाबारी सडकलाई प्राथमिकतामा राखेका छन्।

चुरे, भावर, समथर भूभाग, मठमन्दिर र बाँके राष्ट्रिय निकुञ्ज यही मार्ग आसपास पर्ने भएकाले पर्यटकीय हिसाबले पनि सडक महत्वपूर्ण मानिन्छ। लामो समयदेखि चर्चा भए पनि निर्माणले मूर्तरूप लिन नसकेको स्थानीयवासी बताउँछन्।  सडक निर्माण भए कोहलपुर नगरपालिका–१३ को खड्कबारलगायत दुर्गम बस्ती सडक सञ्जालसँग जोडिने अपेक्षा गरिएको छ। रासस

प्रकाशित: २ फाल्गुन २०८२ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App