राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले आफू पार्टी छाड्ने मनस्थितिमा नरहेको स्पष्ट पारेकी छन्।
पार्टीका अन्य नेताहरूले राजीनामा दिइरहेको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले आफू पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेसँगै रहेको र पार्टीको नीति तथा विचारमा स्पष्ट रहेको बताइन्।
हालै रास्वपाका नेता तथा प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका थिए। यसअघि अर्की प्रभावशाली नेतृ सुमाना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन्। यही पृष्ठभूमिमा गौतमलाई पार्टी छाड्ने सम्भावनाबारे प्रश्न गरिएको थियो।
उनले सभापति रवि लामिछानेले पार्टी खोल्ने प्रस्ताव राख्दादेखि नै आफू जोडिएको र पार्टी खोल्नुको उद्देश्यबारे स्पष्ट रहेको बताइन्।
‘हाम्रो सभापति रवि लामिछाने ज्यूले प्रस्ताव गर्नुभएको बेलादेखि नै म उहाँसँग जोडिएको कारणले किन पार्टी खोलेको, कसको लागि खोलेको भन्नेमा स्पष्ट छु,’ उनले भनिन्, ‘हाम्रो पार्टीले लिएका नीतिहरूको बारेमा पनि म स्पष्ट छु। त्यसकारण मैले पार्टी छाड्नेबारे सोचेको छैन। यही हो मेरो पार्टी।’
प्रकाशित: २९ कार्तिक २०८२ १६:१४ शनिबार





