२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस मंसिर २५ गते उम्मेदवार सिफारिस गर्ने

नेपाली कांग्रेस ताप्लेजुङले मंसिर २५ गते प्रतिनिधि सभाका उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ । जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले २३ र २४ गते छलफल, परार्मश र राय लिएर २५ गते उम्मेदवारको सिफारिस गर्ने योजना रहेको जानकारी दिए ।  

प्रतिनिधिसभाका लागि ताप्लेजुङमा एउटा निर्वाचन क्षेत्र रहेको छ । नेपाली कांग्रेसले केहीदिन अघि पठाएको सर्कुलर अनुसार मंसिर २३ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समितिले उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला समितिमा पठाउनु पर्नेछ ।  

जिल्ला समितिले मंसिर २६ भित्र प्रदेशमा पठाउनुपर्ने सर्कुलरमा भनिएको छ । उम्मेदवारको नाम सर्वसम्मत नटुङ्गिए पार्टीको विधानको धारा ३३(२) र धारा ६९ बमोजिम कम्तीमा एकजना महिलासहित ३ जनाको सिफारिस गर्न कांग्रेसले सर्कुलरमार्फत निर्देशन दिएको छ ।  

२०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा एमाले सचिव योगेशकुमार भट्टराई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी गठनबन्धनका उम्मेदार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री(पराग)लाई २ सय ८ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।  

निर्वाचित भट्टराईले २१ हजार ९ सय ४२ मत प्राप्त गर्दा बुढाक्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ ४८ हजार ६ सय ९२ मत खसेको थियो । त्यसमध्ये एमालेले १९ हजार ६ सय ४ मत पाएको थियो । यस्तै काँग्रेसले १५ हजार ३ सय ७५, माओवादी केन्द्रले ५ हजार १ सय ६२,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले १ हजार ५ सय ४५,राष्ट्रिय स्वतन्त्र पार्टीले ९ सय ७८,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९ सय ३२,जनता समाजवादी पार्टीले ७ सय २२,राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सय ३७,राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ३० र मंगोल नेस्नल अर्गनाईजेसनले १ सय २५ मत पाएका थिए ।  

प्रकाशित: २२ मंसिर २०८२ १६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App