धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई अप्ठ्यारो पार्न खोजे केही नयाँ भनिएका शक्तिलाई पनि उदाङ्गो पार्ने चेतावनी दिएका छन्।
आइतबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै साम्पाङले पुराना राजनीतिक दलहरू दौडमा धेरै पछाडि छुटिसकेको र नयाँ भनिएकाहरूले आफूलाई ‘छिर्के’ लगाउन खोजेको आरोप लगाए।
बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्तिहरूप्रतिको धारणाबारे संचारकर्मीले सोधेको प्रश्नमा उनले भने, ‘दौडमा पुरानाहरू त धेरै पछाडि, एक–दुई किलोमिटर पछाडि छन्, उनीहरूलाई हामीले छोडिइसक्यौँ। अब नयाँहरू यसो देखा परेर छिर्के लगाउन खोज्छन्, त्यसले गर्दा उनीहरूलाई उदाङ्गो पार्नुपर्छ कि क्या हो !’
पत्रकारले ‘को हुन् त छिर्के लगाउन खोज्ने ?’ भनी सोध्दा उनले पत्रकारले नाम लिएका शक्तिहरूतर्फ (बालेन, रास्वपा लगायत) सङ्केत गर्दै उनीहरू पनि अब पुरानो भइसकेको र आफू मात्र ‘ब्रान्ड न्यु’ रहेको जिकिर गरे। उनले भने, ‘नयाँहरू त हामी हो, हाम्रो बिचार नयाँ हो, उनीहरूको अनुहार त कति देखिसकियो, त्यो त पुरानो भइसक्यो।’
नयाँ शक्तिहरू नमिल्दा पुरानाले लाभ लिन्छन् भन्ने विश्लेषणलाई उनले अस्वीकार गरे। पुराना शक्तिलाई जनताले मनबाटै त्यागिसकेको उनको दाबी छ।
‘पुराना शक्तिलाई जनताले छोडिदिसके। उनीहरूसँग जनता हिँड्न चाहिँ हिँड्छन्, तर भोलि भोट हाल्ने बेला चाहिँ माटो मै हाल्छन्, गाउँ–गाउँमा सल्लाह भइसक्यो,’ साम्पाङले भने।
प्रकाशित: २२ मंसिर २०८२ १६:४१ सोमबार





