नेकपा एमालेका पूर्व नेता भीम रावलले पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टीमा फर्कदा नेकपा एमालेले नयाँ अध्यक्ष र ओलीजीले आराम पाउने भनाइ राखेका छन्। ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधवार नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा रावलले भण्डारीजी एमालेमा सक्रिय हुँदा ओलीको सधैँ अध्यक्षमा बसिरहने कुरा समाप्त हुने भएकाले रोकिएको धारणा राखे।
विद्या भण्डारीलाई रोकेर एमालेले के पाउँछ र उहाँ पार्टीमा सक्रिय हुनुभयो भने उहाँले के पाउनुहुन्छ? भन्ने प्रश्नमा उनले यस्तो धारणा राखेका हुन्।‘ओलीजीले आराम पाउनुहुन्थ्यो। भण्डारीजीले त्यो पद पाउनुहुन्थ्यो र नेकपा एमालेले परिवर्तन पाउँथ्यो,’ रावलले भने, ‘भण्डारीजी एमालेमा सक्रिय हुँदा ओलीको सधैँ अध्यक्षमा बसिरहने कुरा समाप्त हुन्छ।’
भण्डारी आउँदा प्रतिस्पर्धा हुने सम्भावना र चुनौती देखिएकाले उनलाई रोकिएको उनको तर्क छ। ‘भण्डारीजीमाथिको प्रहार पनि उहाँ अध्यक्ष लड्नुहुन्छ भनेरै हो,’ उनले भने, ‘अहिले त एमालेका संगठनिक पदहरूमा टीका लगाउने काम मात्रै भएको छ।’
प्रकाशित: ९ श्रावण २०८२ ०९:२६ शुक्रबार





