२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

गुरुङको गुनासो- भात खाने थालसमेत दिदीबहिनीले दिएर चलाएको छु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेन-जी आन्दोलनका क्रममा आफ्नो सर्वस्व गुमेको बताएका छन्।

लमजुङको बेंसीशहरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूसँग अहिले लगाइरहेको कपडाबाहेक केही नरहेको र भात खाने थालसमेत दिदीबहिनीले दिएर चलाउनुपरेको सुनाए।

गत भदौमा भएको जेन-जी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गुरुङको घरमा आगजनी भएको थियो। सोही घटनालाई स्मरण गर्दै उनले भने, ‘मन्त्री पद मात्रै खोसिएको होइन, हाम्रो सारा सम्पत्ति खोसिएको छ।’

आन्दोलनका क्रममा आफ्नो सरकारी तथा निजी निवास दुवै जलेको र श्रीमती तथा बुहारीको सुनसमेत लुटिएको उनले बताए।

‘भैरवनाथ गणबाट निस्किँदा मसँग जति कपडा लगाएको थिएँ, त्यतिबाहेक अरू कपडा थिएन,’ उनले आफ्नो अवस्थाबारे थप प्रस्ट्याउँदै भने, ‘दिदी-बहिनीको घर नभएको भए मेरो बस्ने ठाउँसमेत थिएन।’

उनले हाल आफू दिदीबहिनीको सहयोगमा बसिरहेको र उनीहरूले नै दिएको थाल-कचौरामा खाना खाइरहेको बताए।

गुरुङले आफूमाथि लागेको भ्रष्टाचारको आरोपको खण्डन गर्दै भने, ‘मैले मन्त्री हुँदा एक पैसा घुस खाएको भए आमाको रगत खाए सरह हो भनेको थिएँ। आज मेरो नैतिकतामाथि प्रश्न उठाउने कोही छैन।’

गत भदौ २३ र २४ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भएको जेन-जी आन्दोलनले उग्र रूप लिँदा देशका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका थिए।

सोही क्रममा एमालेका नेता-कार्यकर्ताका घरहरूलाई निशाना बनाइएको गुरुङले बताए।

प्रकाशित: २९ कार्तिक २०८२ १६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App