२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

गगनले भने- पर्सिसम्ममा अद्यावधिक हुन्छ, हामी विश्वस्त छौं

नेपाली कांग्रेस (विशेष महाधिवेशन समूह) का नवनिर्वाचित सभापति गगनकुमार थापाले आगामी आमनिर्वाचनको मनोनयन दर्ता अगाडि नै निर्वाचन आयोगले आफ्नो नेतृत्वलाई वैधानिकता दिने दाबी गरेका छन्।

बिहीबार दलको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका थापाले शेरबहादुर देउवाको हस्ताक्षर हटाएर आफ्नो हस्ताक्षर अद्यावधिक गर्न माग गरे।

उनले पार्टीको सर्वोच्च निकाय महाधिवेशनको निर्णय नै अन्तिम हुने भन्दै देउवा नेतृत्वको कार्यसमिति भंग भई नयाँ नेतृत्व चयन भएको विवरण आयोगमा दर्ता गराएका हुन्।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘आगामी माघ ६ गते निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने बाध्यता छ। त्यसैले ढिलोमा पर्सी (माघ ३) सम्म आयोगले अद्यावधिकको काम टुङ्ग्याउँछ भन्नेमा हामी विश्वस्त छौं।’

सभापति थापाले आफूहरूले विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरेको जिकिर गरे। उनले विशेष महाधिवेशनबाट कार्यविधि पारित भएसँगै देउवा नेतृत्वको तत्कालीन कार्यसमिति स्वतः भंग भएको र त्यसको जानकारी आयोगलाई प्रक्रिया सुरु गर्नुअघि नै गराइसकेको तर्क पेस गरे।

‘हामीले तथ्य र प्रमाणसहित सबै कागजात बुझाएका छौँ, जुन बाहिर पनि सार्वजनिक छन्,’ थापाले भने, ‘महाधिवेशनको निर्णय पार्टीको लागि सर्वोपरि हुन्छ। त्यसैले आधिकारिकतामा द्विविधा हुनुपर्ने कारण छैन।’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते तोकिएको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दलको पदाधिकारी परिवर्तन भएमा वा आधिकारिकता विवाद भएमा आयोगले निरूपण गर्नुपर्ने हुन्छ।

मनोनयनको मिति नजिकिँदै गर्दा विशेष महाधिवेशन पक्षधरले आयोगलाई छिटो निर्णय गर्न दबाब दिएको छ। थापाले आयोगका पदाधिकारीलाई भेटेरै बाहिर सिर्जना भएको दुविधा चिर्न र ६ गतेको समयसीमालाई ख्याल गर्न आग्रह गरेका छन्।

आयोग जानुअघि बिहीबार नै ललितपुरको कुपण्डोलमा बसेको थापा नेतृत्वको पहिलो केन्द्रीय समिति बैठकले निर्वाचन आयोगमा हस्ताक्षर र पदाधिकारी विवरण अद्यावधिक गराउने निर्णय गरेको थियो।

प्रकाशित: १ माघ २०८२ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App