२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रतिवेदनमा दूधको दूध पानीको पानी आएको होला : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री शुसीला कार्कीले भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको आयोगले आफूलाई बुझाएको प्रतिवेदनमा स्पष्टता आएको विश्वास व्यक्त गरेकी छन्। 

प्रतिवेदन बुझेपछि उनले कानुन व्यवसाय, वकालत र प्रहरी प्रशासनको उच्च पदमा बसेर अनुभव लिएका व्यक्तिले अध्ययन गरेको भन्दै यो अनुभवले अध्ययनमा ठूलो भूमिका खेलेको विश्वास व्यक्त गरिन्।  

'गहिरो अध्ययन गरेकाले प्रतिवेदनमा दूधको दूध पानीको पानी आएको होला भन्ने मलाइ लागेको छ।', उनले भनिन्।  

उनले आगामी दिनमा पनि यस्ता घटना घटे अनुसन्धान गर्न सहज हुने प्रधानमन्त्री कार्कीको भनाइ छ।  

अब गृहमन्त्रीसँग मिलेर अध्ययन गर्ने र प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने अध्ययनको निचोड भने सबैसँग सार्वजनिक गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरिन्।

प्रतिवेदनको कार्यान्वयनसम्म आफू नरहने र अब बन्ने सरकारले नै प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्ने पनि उनले स्पष्ट पारिन्।

गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको आयोगलाई मन्त्रिपरिषद्ले सुरुमा तीन महिना समय दिएको थियो। तर त्यसपछि तीन पटक गरेर ७५ दिन थप भएको थियो। 

अन्तिम पटक थपिएको म्याद सकिन एक दिन बाँकी हुँदा आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। 

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी सदस्य छन्। 

आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। 

प्रकाशित: २४ फाल्गुन २०८२ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App