४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

सुदूरपश्चिमका १६ मध्ये १० क्षेत्रमा रास्वपा विजयी, कांग्रेस र एमालेको ३/३ सिट

सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १० क्षेत्रमा जित हासिल गरेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) ले ३/३ क्षेत्रमा विजय हात पारेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने यस प्रदेशमा कुनै सिट जित्न सकेन।

रास्वपाले कैलालीका पाँचवटै निर्वाचन क्षेत्र, कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र तथा डडेल्धुरा र बैतडी गरी कुल १० क्षेत्रमा विजय हासिल गरेको हो।

कैलाली–१ बाट रास्वपाका कोमल ज्ञवाली, कैलाली–२ बाट केपी खनाल, कैलाली–३ बाट जगतप्रसाद जोशी, कैलाली–४ बाट खेमराज कोइराला र कैलाली–५ बाट आनन्दबहादुर चन्द निर्वाचित भएका छन्।

त्यसैगरी कञ्चनपुर–१ बाट जनकसिंह धामी, कञ्चनपुर–२ बाट दीपक वोहरा र कञ्चनपुर–३ बाट ज्ञानेन्द्र महता विजयी भएका छन्। रास्वपाकै डडेल्धुराबाट डा. ताराप्रसाद जोशी तथा बैतडीबाट हरिमोहन भण्डारी निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट डोटीमा भरतबहादुर खड्का, अछाम–१ मा भरतकुमार स्वार र बाजुरामा जनकराज गिरी निर्वाचित भएका छन्।

त्यस्तै नेकपा (एमाले) बाट दार्चुलामा गणेशसिंह ठगुन्ना, अछाम–२ मा यज्ञबहादुर बोगटी र बझाङमा ऐन महर विजयी भएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने सुदूरपश्चिमका ८ क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो। त्यतिबेला कांग्रेसले डडेल्धुरा, कञ्चनपुर–२, कञ्चनपुर–३, कैलाली–४, कैलाली–५, दार्चुला, बाजुरा र अछाम–२ मा जित हासिल गरेको थियो।

त्यसैगरी कञ्चनपुर–१ र बैतडीमा नेकपा (एमाले), डोटी, अछाम–१ र बझाङमा नेकपा (एकीकृत समाजवादी) तथा कैलाली–१, कैलाली–२ र कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको थियो।

 

प्रकाशित: २४ फाल्गुन २०८२ २१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App