सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई खुला पत्र लेखेका छन्।
निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सिंहले सामाजिक सञ्जालमार्फत थापालाई भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्न सुझाव दिएका हुन्।
पत्रमा सिंहले थापालाई सर्लाही आएर चुनाव लडेकोमा धन्यवाद दिँदै उनी भ्रष्टहरूद्वारा ‘आयातित उम्मेदवार’ बनेको टिप्पणी गरेका छन्। उनले गगनमाथि चुनावमा आफ्ना विरुद्ध व्यक्तिगत र पारिवारिक लाञ्छना लगाइएको आरोप समेत लगाए।
‘तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरुद्वारा आयातित उम्मेदवार हुनुभयो। त्यतिमात्र हैन ती भ्रष्टहरुलाई नै मविरुद्ध मेरो निजी र पारिवारिक जीवनमाथि आफुखुसी टिप्पणी गर्न लगाउनुभयो।’ अमरेशले लेखेका छन्।
यस्ता टिप्पणीले चुनावमा केही फरक नपारेको उल्लेख गर्दै उनले राजनीति सधैँ सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने बताए।
चुनावका तिता कुरा छोडेर देश निर्माणमा रास्वपा अगाडि बढिसकेको बताउँदै उनले आगामी दिनमा विभिन्न मुद्दामा थापासँग सहकार्य हुन सक्ने सम्भावनासमेत उनले औंल्याए।
भ्रष्टहरूलाई ठेगान लगाउने जनमत रास्वपाले पाएको सुनाउँदै उनले थापाको आगामी राजनीतिक यात्रा सफा र स्वच्छ होस् भनी कामना गरे।
उनले लेखेका छन्, ‘तपाईं पनि ती भ्रष्टहरुको साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। तपाईं कांग्रेस परिवर्तन गर्न खोज्नुभयो तर आफू परिवर्तन हुन सक्नुभएन। तपाईंको आगामी राजनीति सफा र स्वच्छ होस् भनी कामना गर्दछु।’
सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८ सय ३१ मतसहित दोस्रो स्थानमा चित्त बुझाए।
यस्तो छ अमरेशको खुल्लापत्र
मेरा मित्र गगन थापाजि लाई खुल्ला पत्र
प्रिय मित्र Gagan Thapa जी,
सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लड्नु भो। तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरू द्वारा आयातित उम्मेदवार हुनुभयो। त्यति मात्र हैन ती भ्रष्टहरू लाई नै म विरुद्ध मेरो निजी र पारिवारिक जीवनमाथि आफूखुसी टिप्पणी गर्न लगाउनुभयो खैर त्यसले केही फरक त परेन तर राजनीति भनेको सिद्धान्त र एजेन्डामा हुनुपर्छ भन्ने मेरो विश्वास छ। अब चुनावको यो तिता कुरा छोडौँ। अब देश निर्माणमा रास्वपा अगाडी बढिसक्यो। आउने दिन मा तपाईं सङ पनि विभिन्न मुद्दा मा सहकार्य हुन सक्ला। अब भ्रष्टहरू लाई ठेगान लगाउने जनमत रास्वपाले पाएको छ। तपाईंपनि ती भ्रष्टहरू को साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। तपाईं कांग्रेस परिवर्तन गर्न खोज्नु भयो तर आफू परिवर्तन हुन सक्नु भएन। तपाईंको अगामी राजनीति सफा र स्वच्छ होस भनी कामना गर्दछु।
प्रकाशित: २४ फाल्गुन २०८२ २०:४४ आइतबार





