स्विट्जरल्याण्डले इरानमाथि भएको अमेरिका र इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लघंन भनेको छ। स्विस रक्षामन्त्री मार्टिन फिस्टरले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुन तोडेको बताएका छन्।
सोन्ट्याग्सजेइटुङलाई आज दिएको एक अन्तर्वार्तामा फिस्टरले स्विस मन्त्रिपरिषद्लाई उद्धृत गर्दै भने, ‘संघीय परिषद्को विचारमा इरानमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लघंन हो।’ उनले अगाडि थपेका छन्, ‘हाम्रो विचारमा, यो हिंसा निषेधको उल्लघंन हो।’ फिस्टरले नागरिक जनसंख्याको सुरक्षाका लागि लडाइँ रोक्न संलग्न सबै पक्षलाई आग्रहसमेत गरेका छन्।
फिस्टरले अमेरिका र इजरायलसहित हिंसा निषेधको पालना नगर्ने सबै देशलाई संकेत गर्दै भनेका छन्, ‘अमेरिका र इजरायलले इरानमाथि हावाबाट आक्रमण गरेका छन्। यसो गर्दा, उनीहरूले इरान जस्तै अन्तर्राष्ट्रिय कानुनको उल्लघंन गरे।’
यी टिप्पणीहरूले जर्मन उपकुलपति तथा अर्थमन्त्री लार्स क्लिङबेलको भनाइलाई बल दिएको छ। क्लिङबेलले आरएनडी अखबार नेटवर्कसँग कुरा गर्दै भनेका थिए, ‘यो युद्ध अन्तर्राष्ट्रिय कानुन अन्तर्गत वैध छ भन्ने कुरामा मलाई गम्भीर शंका छ।’ उनले थप चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘हामी यस्तो संसारमा झन् झन् गहिरो फस्दैछौँ जहाँ अब कुनै नियम छैन। हामी त्यस्तो संसारमा बस्न चाहँदैनौँ जहाँ सबैभन्दा बलियोको कानुन मात्र लागू हुन्छ।’
यसैबिच स्पेनले पनि इरानमा भएको अमेरिका र इजरायली बम विस्फोटलाई लापरवाह र गैर कानुनी भनेको छ। स्पेनी अधिकारीहरूले इरान विरुद्धको यो आक्रमणले संयुक्त राष्ट्र संघको बडापत्रको आक्रामकता निषेधको उल्लघंन गर्ने सम्भावना रहेको र यसको कुनै वैध कानुनी औचित्य नरहेको बताएका हुन्।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राखेका छन्। उनीहरूले पहिलो पटक तेहरानमा रहेका तेल भण्डारण डिपो र प्रशोधन केन्द्रहरूलाई निशाना बनाएका छन्।
अर्कोतर्फ, इरानी ड्रोन आक्रमणले बहराइनमा रहेको पानी डिसेलिनेशन प्लान्टमा भौतिक क्षति पुर्याएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ। इरानले दक्षिणी इरानको केश्म टापुमा रहेको ताजा पानी डिसेलिनेशन प्लान्टमा अमेरिकाले बम विस्फोट गराएको र ‘मिसाल’ कायम गरेको बताएको एक दिनपछि यो घटना भएको हो।
यसैबिच, इरानको अर्को सर्वोच्च नेता छनोट गर्ने धर्मगुरु निकायले बहुमतको सहमति जुटाएको एक सदस्यले बताएका छन्। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले माफी माग्दै खाडी राज्यहरूमा उनीहरूको क्षेत्रबाट कुनै आक्रमण नभएमा आफूले पनि आक्रमण रोक्ने वाचा गरेका थिए। तर कुवेत, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले भने थप इरानी आक्रमणहरू भइरहेको रिपोर्ट गरेका छन्। एजेन्सी
प्रकाशित: २४ फाल्गुन २०८२ २०:३७ आइतबार





