मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने जवाफ दिएको दाबी गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले यस्तो दाबी गरेका हुन्।
प्रसाईंका अनुसार उनले सरकारका प्रतिनिधिले ५ दिनभित्र भ्रष्टाचारी पक्राउ गर्ने भनी दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले लाचारी व्यक्त गरेको प्रसाईंको दाबी छ।
‘प्रधानमन्त्रीज्यूले उहाँहरू (भ्रष्टाचारी) लाई हामी कारबाही गर्न सक्दैनौं, त्यो आशै नगर्दा हुन्छ भन्नुभयो,’ प्रसाईंले भने, ‘उहाँले ठाउँ नै यस्तै रहेछ भन्ने जवाफ दिनुभयो।’
प्रसाईंले सरकार समस्या समाधान गर्न भन्दा पनि यसलाई पन्छाएर चुनावमा जाने तयारीमा रहेको आरोप लगाए।
सडकमा रहेका वास्तविक आन्दोलनकारी र ३४–३५ वटा जेन-जी समूहलाई बाहिर राखेर सरकारले ‘नक्कली टिम’ खडा गरेको उनको आरोप छ।
उनले युरोपियन युनियन र पश्चिमाहरूको दबाबमा देशको अस्तित्व सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरे।
भेटका क्रममा आफूले मुलुकको निकासका लागि जनमत सङ्ग्रहमा जानुपर्ने प्रस्ताव राखेको प्रसाईंले बताए।
‘मैले जनमत सङ्ग्रहमा जाऔँ भन्दा प्रधानमन्त्रीज्यूले त्यसका लागि संसदबाट दुई-तिहाइ चाहिन्छ भन्नुभयो,’ प्रसाईंले भने, ‘मैले तपाईं जसरी प्रधानमन्त्री बन्नुभयो त्यही बाटोबाट जनमत सङ्ग्रहमा जान किन सकिँदैन भनेर प्रतिप्रश्न गरेँ।’
उनले अहिलेको अवस्थामा संविधानको किताब पल्टाएर मात्र नबस्न र लोकतन्त्रको अधिक प्रयोग गर्दै जनताको मत बुझ्न आग्रह गरेको उल्लेख गरे।
सरकारसँग वार्ताका लागि आफ्नो टोली तयार रहेको बताउँदै प्रसाईंले आइतबारसम्ममा सहमति हुने अपेक्षा व्यक्त गरे। यद्यपि, माग पूरा नभए कडा कदम चालिने चेतावनी उनले दिएका छन्।
‘हाम्रो वार्ता टोली भोलिदेखि गम्भीर रूपमा लाग्नेछ र आइतबार सम्झौतामा हस्ताक्षर गर्ने कुरा छ,’ प्रसाईंले चेतावनी दिँदै भने, ‘यदि आइतबार हस्ताक्षर भएन र माग पूरा भएनन् भने हामी गाउँगाउँबाट लघुवित्त, सहकारी र बैंकहरू लखेट्न बाध्य हुनेछौँ।’
प्रकाशित: १७ पुस २०८२ १९:०३ बिहीबार





