नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त सभापति गगन थापासँग भेट नभएको स्पष्ट पारेका छन्। देउवासँग थापा र उपसभापति विश्वप्रकाश शर्माले भेट गरेको चर्चा चलेपछि देउवाको निजी सचिवालयले हल्लामा सत्यता नभएको बताएको हो।
निजी सचिव भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूसँग पूर्व महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही सञ्चार माध्यमहरूमा समाचार आएको देखिएको तर हालसालै उहाँहरूसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराइन्छ।’
कांग्रेसको दोस्रो महाधिवेशनबाट गगनसहितका नयाँ कार्यसमिति चयन भएको छ, जसलाई देउवा पक्षले मान्यता दिएको छैन। तर शुक्रबार मात्रै निर्वाचन आयोगले थापा सभापति रहेको कार्यसमितिलाई मान्यता दिएको थियो। अब देउवा पक्ष निर्वाचन आयोगबाट अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेको छ।
प्रकाशित: ४ माघ २०८२ ११:४४ आइतबार





