१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती छैनः उर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी छिन्।

प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री भुसालले बुधवार नेपालसँग कुरा गर्दै आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी हुन्।

उनले आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका कामहरु हेरेर जनताले मत दिने बताइन्। जनताले कुनैपनि काम नगरेकाहरुलाई मत नदिने उनले बताइन्। मन्त्री भुसालले राजनीति परिवर्तनको आन्दोलनमा पसिना नबगाएकाहरुलाई जनताले मत नदिने उल्लेख गरिन्।

उनले भनिन् –‘मेरो दुई कार्यकाल हेरेर उहाँहरुले दिन सक्नुहुन्छ। म त काम गरेर जनताका आँखामा टेस्टेड छु। गर्नसक्ने मान्छे भनेर। गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरुको कुनै सकारात्मक भुमिका छ। कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन। अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन। अहिले मैले गर्छु, म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन। मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरुको क्षेत्र हो। 

कति सचेत हो भने ०४५/०४६ को आन्दोलन हुँदैहुँदा पाटनवासी तिनै जनता हुन् जसले पाटनलाई पञ्चायतमुक्त जिल्ला घोषणा गरिसकेका थिए। ०६२/०६३ को आन्दोलन थियो। राजनीतिक दलहरुले गणतन्त्रको निर्णय नगर्दै ललितपुरका जनताले हाम्रो जिल्ला अब राजतन्त्रमुक्त गणतन्त्रको जिल्ला भनेर घोषणा गर्ने जिल्ला हो। उहाँहरुले राजनीतिक परिवर्तनमा खेलेको व्यक्तिको भुमिका पनि हेर्नुहुन्छ। अनि उहाँहरुको मतले सरकार बन्ने र सरकार बन्दाखेरी मात्रै बल्ल आफ्ना एजेण्डाहरु त्यो सरकारको कार्ययोजनामा पर्छन् भन्ने कुरा बडो राम्रोसँग बुझ्नुभएको छ। त्यसैले एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ। तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन।’ उनले भनिन्।

उनले देशमा दलीय राजनीति बलियो भएको बताइन्। सबै राजनीतिक दलहरुको पार्टी संरचना स्थानीय तहसम्म पुगेको भन्दै उनले जनताले पार्टी हेरेर भोट दिने बताइन्। मन्त्री भुसालले जनताले चुनाव जित्ने र सरकार बनाउने पार्टी हेरेर मत दिने बताइन्।

उनले भनिन् – ‘कोही उम्मेदवारका हकमा कोही काहीँ हुनसक्छ। भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ। तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहीँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन। 

दलीय राजनीति हाम्रो यति बलियो छ। जनताको घरदैलोसम्म हाम्रो संरचना छ। सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन्। कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन्।’ उनले भनिन्।

प्रकाशित: ३० कार्तिक २०७९ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App