२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धन सरकार भारतीय ठेकेदारविरुद्ध बोल्न लुगलुग काम्छ: नेम्बाङ

इलाम नगरपालिका–८, मसारमा मतदातासँग एमाले अध्यक्ष सुवासचन्द्र नेम्बाङ। तस्बिर: भीम/नागरिक<br>

नेकपा (एमाले) उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले वर्षमान सत्ता गठबन्धन सरकार र त्यसका नेता भारतीय ठेकेदारसँग लुगलुग काम्ने गरेको आरोप लगाएका छन्। 

विकास निर्माणका काम अलपत्र पार्दा पनि गठबन्धन सरकारले भारतीय ठेकेदाविरुद्ध कुनै कारबाही चलाउन नसकेकामा नेम्बाङले आक्रोस पोखे। इलामसहित धनकुटा, मोरङ, सुनसरी, पाँचथर र ताप्लेजुङ लगायत जिल्ला प्रत्यक्ष प्रभावित हुने भेडेटार–रवि–राँके सडक ठेकेदारले अलपत्र पार्दा पनि सरकार ‘चुँ’ बोल्न नसकेको नेम्बाङको आरोप छ। 

चुनावी अभियानक्रममा इलाम नगरपालिका–८, मसारमा आयोजित कार्यक्रममा नेम्बाङले ठेक्काको म्याद गुज्रिएर थप म्यादमा समेत त्यो सडकको प्रगति सन्तोषजनक नभएको भन्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका हुन्। ६ अर्ब रुपैयाँ विनियोजित यो सडक कालोपत्रेका लागि ३ अर्ब ६८ करोड रुपैयाँमा ठेक्का लागेको थियो। तर, सडकको निर्माण अवधि गतवर्षको डिसेम्बरमै सकिएको छ। निर्माणको काम भने १९ प्रतिशतमात्र भएको छ।  

‘त्यत्रो महत्त्वपूर्ण सडकका लागि मेरै पहलमा ६ अर्ब रुपैयाँ छुट्टिएको थियो तर एक भारतीय ठेकेदारले काम अलपत्र पारेका छन्,’ नेम्बाङले भने, ‘कारबाही गर्नुपर्ने ठेकेदारलाई यो गठबन्धन सरकार कारबाही गर्नै सक्दैन, किनभने भारतीय ठेकेकारविरुद्ध अहिलेको सरकार चुँ बोल्न सक्दैन, भारतीय ठेकेदार भनेपछि गठबन्धन सरकार लुगलुग काम्छ।’  

नेम्बाङले आफूहरूले गत साउन १५ मै यो ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्न सरकारलाई लिखित आग्रह गरेपनि वास्तै नगरेको गुनासो गरे। ‘यो सडकको ठेक्का तोडेर अर्काे प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मेरै नेतृत्वमा चारै जिल्लाका सांसदहरूले माग गरेका थियौं,’ नेम्बाङले भने, ‘तर, देउवा र गठबन्धनका नेता न ठेक्का तोड्न सक्छन्, न भारतीयविरुद्ध चुँ बोल्न नै सक्छन्। त्यही भएर अहिले महत्त्वपूर्ण आयोजना अलपत्र परिरहेको छ।’

भारतीय कम्पनी इन्फेयर्च पालिले निर्माण ठेक्का लिएको यो सडकको निर्माण अवधि पोहोर डिसेम्बरमै सकिएपछि आउँदो डिसेम्बर २१ सम्मलाई थपिएको छ। ठेकेदारले १५ प्रतिशत पेस्की लिइसकेका छन्। तर, कामको प्रगति अझै अघि नबढेपछि इलामस्थित डिभिजन सडक कार्यालयले पनि प्रत्येक साता ताकिता गरिरहेको जनाएको छ। ‘हामीले सातौपिच्छे ताकिता गरिरहेका छौं,’ डिभिजन प्रमुख विदुर पोख्रेलले नागरिकसँग भने, ‘कोभिड, निर्माण क्षेत्रमा पर्ने रुख–बिरुवा, खानेपानी लगायत समस्या देखाएर ठेकेदारले काममा ढिलाइ गरेका छन्।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यो सडक शिलान्यास गरिएको थियो। अधिकांश भाग नेम्बाङको निर्वाचन क्षेत्र (इलाम–२) मा पर्ने र उनकै पहलमा बजेट आएको चर्चा भएपनि निर्माणमा प्रगति नहुँदा स्थानीयले यसमा नेम्बाङकै पहलकदमी नभएको गुनासो गरिरहेका छन्। तर, नेम्बाङले ठेकेदारले काम नगर्दा र १८ महिनायता  सरकारले ठेकेदारलाई काम गराउन नसक्दा सडक अलपत्र परेको बताएका हुन्।

प्रकाशित: २७ कार्तिक २०७९ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App