coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन घोषणा गर्नु प्रतिगमन होइन: नेम्बाङ

इलाम क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङ आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा । तस्बिर: भीम/नागरिक

नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गर्नु प्रतिगमन नभएको बताएका छन्। ओलीले ‘पार्टीभित्रैबाट काम गर्न नदिइएपछि नयाँ जनादेशका लागि जनतामै जाने बाटो’ रोजेको भन्दै नेम्बाङले त्यसलाई प्रतिगमन भन्नु हास्यास्पद भएको टिप्पणी गरे।  

नयाँ संविधान निर्माणको नेतृत्वसमेत गरेका नेम्बाङले आफू उम्मेदवार रहेको इलाम क्षेत्र २ का मतदातासँग कुरा गर्दै ओलीको कदमलाई प्रस्ट्याउने प्रयास गरेका हुन्। मंसिर ४ को निर्वाचनसम्मुखमा अन्य प्रतिस्पर्धी उम्मेदवारले २०७७ पुस ५ मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई लिएर एमालेलाई ‘प्रतिगमनकारी’को आरोप लगाइरहेका बेला नेम्बाङले यस्तो बताएका हुन्।

‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो फरक पक्ष भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो ?’ उनले भने, ‘सर्वाेच्चले विघटनको फैसला बदर नगरेको भए देशमा निर्वाचन हुनेथियो, नयाँ संसद् बन्ने थियो। त्यो प्रतिगमन हुन्थ्यो ?’ एमाले नागरिकको मतदेशमा मात्र चल्नसक्ने भन्दै उनले यो दल सधैं निर्वाचनकै पक्षमा रहेको पनि दाबी गरे।

तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, मनमोहन अधिकारी, बाबुराम भट्टराईलगायत ६ प्रधानमन्त्रीले पटक–पटक संसद् विघटन गरेको भन्दै नेम्बाङले ओलीले गरेको विघटनलाई चाहिँ प्रतिगमन भनेर चुनावी नारा बनाउनुको तुक नभएको बताए। ‘अहिलेसम्म ६ जना प्रधानमन्त्रीले संसद् विघटन गरेका थिए, ती सबै प्रतिगमन नै थिए त ?’ उनले भने, ‘ओलीले गरेको विघटनलाई प्रतिगमन भन्नु भनेको एमालेको लोकप्रियतामाथि प्रहार गर्न प्रयोग गरिएको हतियारमात्रै हो।’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईप्रति लक्षित गर्दै नेम्बाङले ‘आफू संविधानसभाको अध्यक्ष रहेका बेला पहिलो संविधानसभा नै अचानक विघटन गर्ने त्यतिबेलाका प्रधानमन्त्री नै अहिले ओलीको कामलाई प्रतिगमनको संज्ञा दिँदै हिँड्नुलाई हास्यास्पद भनेका छन्। ‘आफूले त्यही काम गरे संविधानसम्मत्, अर्काले गरे प्रतिगमन भन्नुको अर्थ छैन,’ नेम्बाङले भने।  

प्रकाशित: १९ कार्तिक २०७९ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App