९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रकाशमानलाई मतदाताको गुनासोः सरकारी सेवामा सास्ती र पानीको व्यवस्थापन गरियोस्

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताएका छन्।

शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आम मतदाताहरुसँग घरदैलो कार्यक्रममा मतदाताहरुले आफूलाई पानी र सरकारी सेवाहरुको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताएका हुन्। उनले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरुले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरु सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताए।  ‘मैले यस वर्ष विगतको निर्वाचनको भन्दापनि राम्रो प्रतिक्रिया पाएको छु।’ उनले भने, ‘यो भन्दा अघिका निर्वाचनमा जाँदाका प्रतिक्रिया र अहिलेका प्रतिक्रियामा धेरै अन्तर र राम्रो प्रतिक्रिया पाएको छु।’

काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका नेता सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताए। उनले संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको गुनासो आम नागरिकले गरेको बताए। ‘यो क्षेत्रको समस्या भनेको पानीको छ, कहिले आउँछ मेलम्चीको पानी भनिरहेका छन्।’ उनले भने, ‘अर्को कुरा संघीयता जारी गर्नुभयो तर संघीयता अनुसारको तीन तहको सरकार राम्रोसँग कार्यान्वयन भएको पाएनौँ, यो कारणले विभिन्न सेवासुविधाहरुमा सास्ती व्यहोर्नुपरेको छ भन्ने कुरा आयो। व्यवस्थापनमा ख्याल गर्नुहोला भन्नुभएको छ।’

यसअघिका दुई निर्वाचन संविधान लेख्नमा लागेको र संधिवान जारी गरिसकेपछि कार्यान्वयन गर्ने बेलामा काँग्रेसले जनमत नपाएकाले व्यवस्थित हुन नसकेको भन्दै आगामी निर्वाचनपछि काँग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने उनले बताए। नेता सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको बताए। ‘दुई वटा निर्वाचन त संविधान लेखनमा नै गयो, काँग्रेसको नेतृत्वमा संविधान जारी गरेका थियौँ तर कार्यान्वयन गर्ने बेलामा काँग्रेसले नेतृत्व पाएन। जनताको मत पाएकाले गर्न सकेनन्।’ उनले भने, ‘अब हामी कार्यान्वयनमा जाने हो। तीन तहको सरकारलाई संविधानको मर्म अनुसार जे अधिकार दिलाउनुपर्ने हो कानून बनाएर हाम िदिलाउनेछौँ। ५ दलको गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि हो। हामीले राजनीतिक स्थिरता ल्याउन जरुरी छ। जारी भएको संविधानलाई कार्यान्वयन गर्नुपर्छ। संविधानको रक्षा भएपछि स्थिरता आउँछ स्थिरता भएपनि देशको विकास निर्माणको कार्यले गति लिन्छ र हरेक नेपालीको जीविकोपार्जन सहज हुन्छ।’

नेता सिंहले देशमा विकास गर्नका लागि राजनीतिक स्थिरताको आवश्यक रहेको भन्दै संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने उल्लेख गरे। उनले देशमा राजनीतिक स्थिरता कायम गरी हरेक नेपालीको जीविकोपार्जन सहज बनाउन जरुरी रहेको बताए।

प्रकाशित: १९ कार्तिक २०७९ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App