८ वैशाख २०८१ शनिबार
राजनीति

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन्। गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए।  

मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए। 'यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ', अध्यक्ष दाहालले भने, 'मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ।'

 

मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उहाँले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे। 'हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ', उनले भने, 'नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो।' निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो।  

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उहाँले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे। 'म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो', अध्यक्ष दाहालले भने, 'यो पार्टी पुनःनिर्माणको अभियान पनि हो।'  

आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उहाँले बूढीगण्डकी परियोजना तथा उत्तरदक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सक्ने बताए। 'गोरखाली जनताको प्रमुख माग सडक निर्माण र स्तरोन्नति रहेको मैले पाएँ, गोरखकाली रबर उद्योग सञ्चालन गरेर ठूलो सङ्ख्यामा रोजगारी उपलब्ध गराउने सम्भावना छ', उनले भने, 'उपल्लो क्षेत्रमा जडीबुटी तथा ठूला फाँट एवम् टारमा कृषि क्रान्तिको ठूलो सम्भावना छ।' आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उहाँले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताए।

'संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको छ', अध्यक्ष दाहालले भने, 'अर्को राजावादीसहित प्रतिगमन गर्न चाहनेको गठबन्धन बनेको छ। यी दुई गठबन्धन आमनेसामने छन्। मङ्सिर ४ गते जनताले फैसला गर्नेछन्।' मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीले आफ्नो प्रतिबद्धता पत्रमार्फत संरचनागत सुधारको विषय उठाएको जनाउँदै उहाँले शासकीयस्वरुप र निर्वाचन प्रणाली परिवर्तन तथा २०४७ पछि लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय माओवादीले मात्रै उठाएको बताए। 

प्रकाशित: १६ कार्तिक २०७९ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App