२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

गण्डकीमा कांग्रेस-एमालेको गठबन्धनको जित सुनिश्चित

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । गण्डकी प्रदेशमा दुई सदस्यका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको तर्फबाट २ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट २जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।  

गण्डकी प्रदेशमा पुरुष र महिलातर्फ एक-एक जनाको सिट खाली छ । दुबैतर्फ तीन-तीन जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जनाएको छ । देशैभर कांग्रेस र एमालेबीच गठबन्धन भए अनुसार गण्डकीमा पनि यी दुई दल मिलेर उम्मेवदारी दिएका छन् । दुई दल मिलेका कारण गण्डकीमा उनीहरुको जित सुनिश्चित छ । मतभारमा कमजोर रहेको नेकपा र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी भने दर्ता गराएका छन् ।  

गण्डकीमा पुरुषतर्फको एक पदका लागि कांग्रेस एमालेको गठबन्धनको तर्फबाट कांग्रेसका जगत तिमिल्सिना, नेकपाका कपिल लामा र राष्ट्रिय जनमोर्चाका तर्फबाट भने शंकरप्रसाद बरालले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका ५५ वर्षिय तिमिल्सिना तनहुँ शुक्लागण्डकीका हुन् भने नेकपाका ७१ वर्षिय लामा मनाङ र जनमोर्चाका बराल पोखरा–२२ कास्कीका हुन् ।  

महिलातर्फ गठबन्धनको तर्फबाट एमालेकी सम्झना देवकोटा, नेकपाबाट गोमा घिमिरे लुईटेल (रुची) र राष्ट्रिय जनमोर्चाका तर्फबाट लक्ष्मी बास्कोटाले उम्मेदवारी दर्ता गरेका छन् । एमालेकी देवकोटा गोरखा, जनयुद्दकी घाईते लुईटेल कास्की र बास्कोटा बागलुङका हुन् ।  

गाण्डकीमा दुबै सिट कांग्रेस एमालेको गठबन्धनले जित्ने निश्चित छ । किनकी यहाँ दुबै दलको मतभार जोड्दा दुई तिहाई भन्दा बढी हुन्छ । गण्डकीमा सबैभन्दा धेरै कांग्रेसको २ हजार ७ सय ४ मतभार छ भने एमालेको २ हजार ४ सय ३९ मतभार छ । कांग्रेसबाट २७ जना प्रदेश सभा सदस्य, नगर प्रमुख १५, उपप्रमुख ११, गाउँपालिका अध्यक्ष २१ र उपाध्यक्ष २० जना छन् । त्यस्तै, एमालेबाट प्रदेश सभा सदस्य २२, नगर प्रमुख ८, उपप्रमुख ९ तथा गाउँपालिका अध्यक्ष २७ र उपाध्यक्ष २४ जना छन् ।  

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीको गण्डकीमा केवल ९६० मतभार छ । तत्कालीन माओवादीबाट प्रदेश सभा सदस्य ७ जना, नगर प्रमुख २, उपप्रमुख ७, गाउँपालिका अध्यक्ष ९, उपाध्यक्ष १२ जना तथा एकीकृत समाजवादी पार्टीका तर्फबाट पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य छन् । तत्कालीन माओवादीबाट चुनाव लडेका फणिन्द्र देवकोटा नेसपाको भएकाले उनको मतभार यहाँ कायम गरिएको छैन ।  

गण्डकीमा राष्ट्रिय जनमोर्चाको केवल ५७ मतभार छ । उसको स्थानीय तहतर्फ नगर प्रमुख १, गाउँपालिका अध्यक्ष १ र उपाध्यक्ष १ जना गरी ३ जना छन् । राष्ट्रिय सभामा उम्मेदवारी नदिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को यहाँ १ सय ६ मतभार छ । राप्रपाको गण्डकी प्रदेशसभा सदस्य २ जना छन् ।

प्रकाशित: २३ पुस २०८२ १८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App