२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन : अमेरिका-इजरायलबारे के भन्यो?

उत्तर कोरियाले इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने निर्णयको सम्मान गर्ने बताएको छ। उत्तर कोरियाली विदेश मन्त्रालयका एक अधिकारीले इरानी जनतालाई आफ्नो देशको सर्वोच्च नेता छनोट गर्ने पूर्ण अधिकार रहेको बताए।

इरानी पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्युपछि उनका दोस्रो छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेतामा निर्वाचित भएका छन्। उत्तर कोरियाले अमेरिका र इजरायललाई आफ्ना कार्यमार्फत यस क्षेत्रमा शान्ति र सुरक्षा कमजोर बनाएको र विश्वव्यापी अस्थिरता बढाएको आरोप लगाएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले इरानको सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनीको नियुक्तिलाई पूर्ण समर्थन गर्ने घोषणा गरेको छ। उसले अमेरिका तथा इजरायलले इरानमाथि गरेको 'अवैध' आक्रमण भन्दै फेरि निन्दा गरेको छ। केसीएनएले बुधबार विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै प्योङयाङले इरानको निर्णयको सम्मान गर्ने उल्लेख गरेको हो। इरानमा अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा फेब्रुअरी २८ मा अमेरिका-इजरायली आक्रमणमा मारिएका आफ्ना पिताको उत्तराधिकारी बनेका छन्।

‘इरानी विशेषज्ञ सभाले इस्लामिक क्रान्तिको नयाँ नेता चयन गरेको हालैको आधिकारिक घोषणाको सन्दर्भमा, हामी इरानी जनताको आफ्नो सर्वोच्च नेता चयन गर्ने अधिकार र रोजाइको सम्मान गर्छौं,’ केसीएनएले प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ।

प्रवक्ताले अगाडि भनेका छन्, ‘हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं र संयुक्त राज्य अमेरिका र इजरायलको आक्रामकताको कडा निन्दा गर्दछौं, जसले इरान विरुद्ध गैरकानूनी सैन्य आक्रमण गरेर क्षेत्रीय शान्ति र सुरक्षाको जगलाई कमजोर पारिरहेको छ र अन्तर्राष्ट्रिय परिदृश्यमा अस्थिरता बढाइरहेको छ।’ उनले देशको राजनीतिक प्रणाली र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने आक्रमण अस्वीकार्य भएको र यसलाई सम्पूर्ण विश्वले निन्दा गर्नुपर्ने बताए।

यसैबिच, केसीएनएले उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ नौसेना विनाशक 'चो ह्योन' बाट रणनीतिक क्रूज क्षेप्यास्त्रको परीक्षण निरीक्षण गरेको पनि रिपोर्ट गरेको छ। सो अवसरमा किमले 'शक्तिशाली र भरपर्दो आणविक युद्ध निवारक कायम राख्ने र विस्तार गर्ने' महत्त्वपूर्ण रणनीतिक कार्यबारे बोलेका थिए। किमले गत हप्ता आफ्नो देशले नौसेनालाई आणविक हतियारले सुसज्जित गरेको भन्दै प्रशंसा समेत गरेका थिए।

अमेरिकाले दशकौंदेखि उत्तर कोरियाको आणविक कार्यक्रम समाप्त पार्ने प्रयास गरे पनि प्योङयाङले दक्षिण कोरिया र वासिङ्टनबाट हुने खतरा रोक्न यस्ता हतियार आवश्यक रहेको दाबी गर्दै आएको छ। हालैका महिनामा ट्रम्प प्रशासनले वार्ताको संकेत गरे पनि किमले वासिङ्टनले आफ्नो देशलाई आणविक शक्तिका रूपमा स्वीकार गरे मात्र दुई राष्ट्र मिल्न सक्ने बताएका छन्। एजेन्सी 

प्रकाशित: २७ फाल्गुन २०८२ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App