coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ का पूर्व मन्त्री र पूर्व मेयरबीच प्रतिस्पर्धा

मोरङ क्षेत्र नम्बर ४ को प्रदेशसभा क्षेत्र नम्बर २ मा प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीबीच कडा प्रतिस्पर्धा देखिएको छ। दुबै यस क्षेत्रमा प्रभावशाली भएका कारण  मोरङ क्षेत्रनम्बर ४ को प्रदेशसभा क्षेत्रनम्बर २ मा नेकपा एमालेका उमेदवार जीवन घिमिरे र गठबन्धनबाट नेपाली काँग्रेसका उमेदवार भीम पराजुलीबीच कडा प्रतिस्पर्धा देखिएको हो।

नेकपा एमालेका उमेदवार जीवन घिमिरे यस क्षेत्रबाट यस अघि प्रदेशसभा सदस्यमा निर्वाचित निवर्तमान सांसद हुन्। भीम पराजुली नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत हुन्। मोरङ क्षेत्रनम्बर ४ को प्रदेशसभा क्षेत्रनम्बर २ मा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडा, कटहरी गाउँपालिकाको १,२ र ३ नम्बर वडा पर्दछन्।

स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडामा एमालेले जितेको छ। यस्तै कटहरीको १ र २ वडामा पनि एमालेले जितेको छ। कटहरीको वडा नम्बर ३ मा मात्रै नेपाली काँग्रेसले जितेको छ। स्थानीय तहको निर्वाचनलाई हेर्दा नेकपा एमालेले अधिकांश वडामा जितेको देखिन्छ। स्थानीय तहमा वडा अध्यक्षको मतका आधारमा हेर्दा यस क्षेत्रमा एमाले नै अगाडि देखिएको छ।

गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरूमा एमालेले ११ हजार ९३ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले ८ हजार ४ सय ६८ मत प्राप्त गरेको छ। नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलसँग गठबन्धन गरेको छ। तर, गठबन्धनका अन्य दलहरूले स्थानीय तहको निर्वाचनमा न्यून मत प्राप्त गरेका छन्।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरूले यस क्षेत्रमा जम्मा १ हजार ६ सय ८४ मत मात्रै प्राप्त गरेका छन्। यस आधारमा हेर्दा मोरङको क्षेत्रनम्बर ४ (२) मा गठबन्धनको तुलनामा पनि एमाले नै बलियो देखिएको छ। तर, स्थानीय तहको निर्वाचनको मत परिणाम मात्रै जित हारको आधार नहुने यस अघिका निर्वाचनको परिणामहरूले देखाइसकेको छ।

यस क्षेत्रलाई काँग्रेसको आधार क्षेत्रका रुपमा हेरिदै आइएको छ। काँग्रेसभित्रको आन्तरिक एकता बलियो नहुँदा यस क्षेत्रमा काँग्रेसले हार व्यहोर्दै आएको छ। गत स्थानीय तहको निर्वाचनमा पनि अन्तरघातकै कारण काँग्रेसले यस क्षेत्रका वडाहरूमा हार व्यहोरेको विश्लेषण काँग्रेस नेताहरूको छ। स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख  र कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले जितेको थियो।

मोरङ क्षेत्रनम्बर ४ (२) मा नेकपा एमालेका उमेदवार जीवन घिमिरे र गठबन्धनबाट नेपाली काँग्रेसका उमदवार भीम पराजुली दुबै यस क्षेत्रका प्रभावशाली नेताका रुपमा परिचित छन्। विराटनगर महानगरपालिकाको मेयर हुँदा यस क्षेत्रमा पर्ने महानगरभित्रका वडाहरूमा भीम पराजुलीले विकासको लहर ल्याएका थिए।

यस्तै यही क्षेत्रबाट २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएर मन्त्रीसमेत बनेका जीवन घिमिरेले पनि यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। दुबै प्रतिस्पर्धी उत्तीकै बलिया देखिए पनि नेकपा एमालेका उमेदवारलाई पार्टीभित्रको बलियो एकताले चुनाव जित्न सहयोग पुर्‍याउने देखिएको छ। काँग्रेसभित्रको आन्तरिक द्वन्द्व  व्यवस्थापन पराजुलीका लागि चुनौतीपूर्ण देखिएको छ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न पराजुली सफल भए उनका लागि यस क्षेत्रमा विजयी हुन त्यति गाह्रो  देखिँदैन। यस क्षेत्रका मुख्य प्रतिस्पर्धी दुबै उमेदवारले विकासका योजनालाई आफ्नो मुल एजेण्डाका रुपमा अघि सारेका छन्। विगतमा जनप्रतिनिधि हुँदा आफूले गरेका विकास निर्माणका कामलाई  उनीहरूले चुनावी प्रचारका क्रममा मतदातासमक्ष प्रस्तुत गर्ने गरेका छन्। दुबै उमेदवारले विगतमा जनप्रतिनिधि हुँदा गरेका कामहरू नै आफूहरूको जितको आधार रहेको बताउँदै आएका छन्।

प्रकाशित: १२ कार्तिक २०७९ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App