१६ चैत्र २०८० शुक्रबार
राजनीति

एउटै कार्यालयमा ६ सय करार–ज्यालादारी कर्मचारी

फाइल तस्बिर

प्रदेश तथा स्थानीय तहले ठुलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६ सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ। बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ। जबकि त्यस विभागमा स्थायी दरबन्दीको संख्या ४ सय ८६ मात्र छ। अस्थायी दरबन्दी भने ७ सय ४४ रहेको उक्त शाखाले जनाएको छ। अस्थायी दरबन्दीभित्र करारमा कर्मचारी भर्ना गरिएको र आयोजना प्रमुखले आफ्नो आवश्यकता हेरेर ज्यालादारी कर्मचारी भर्ना गर्ने गरेको कर्मचारी प्रशासन शाखाका अधिकारीहरूको भनाइ छ।  

विभागका महानिर्देशक रामचन्द्र दंगालले करिब ६ सय कर्मचारी करार तथा ज्यालादारीमा कार्यरत रहेको स्वीकार गरे। ‘उनीहरू पनि नेपाली नागरिक नै हुन्। एकजनाको भरमा सिंगो परिवार आश्रित हुन्छ,’ दंगालले भने, ‘करारमा कार्यरत कर्मचारीले कार्यालयमा काम गरेरै खाएका हुन्छन्। त्यसैले सकेसम्म कर्मचारी नहटाऔं भन्ने हाम्रो नीति हो।’ लामो समयदेखि करारमा काम गरेका कर्मचारीलाई हटाउँदा कार्यालयको कार्यसम्पादनमा समेत अप्ठ्यारो पर्ने उनले बताए। उपमहानिर्देशक चक्रवर्ती कण्ठले निर्माण कार्य सुपरिवेक्षण तथा अवलोकन गर्न स्थायी कर्मचारीले मात्र नभ्याउने भएकाले करार तथा ज्यालादारीमा कर्मचारी राख्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘हामीले आवश्यकता हेरेरै राखेका हौं, कसैको दबाबमा होइन।’

विभाग स्रोतका अनुसार केही कर्मचारी १५ वर्ष देखि करारमा कार्यरत छन्। करारमा कार्यरत एक कर्मचारीले भने, ‘स्थायी कर्मचारीले आफूले काम नगर्ने, करारका कर्मचारीलाई काम लगाउने प्रवृत्ति छ।’ करार तथा ज्यालादारीका नाममा आफूहरूमाथि अन्याय हुने गरेको उनको भनाइ छ। उनले भने, ‘हामीमाथि भएको अन्याय कसले सुन्ने?’ विभागमातहतमा १६ वटा एकाइ कार्यालय छन्। विभागले हरेक वर्ष अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने गरेको छ। मन्त्रिपरिषद्ले प्रस्ताव पास गरेपछि विभागले करारमा कर्मचारी भर्ना गर्न सुरु गर्छ। पुराना कर्मचारीहरूको नवीकरण हरेक वर्ष साउनमा हुने गर्छ।

ज्यालादारीमा भने कर्मचारी राख्ने अधिकार र जिम्मेवारी आयोजना प्रमुखलाई मात्र दिइएको हुन्छ। कर्मचारी प्रशासन शाखाका एक कर्मचारीका अनुसार करारमा कार्यरत कर्मचारी राख्न सूचना निकाल्ने गरिँदैन, निवेदन मागेर भर्ना गरिन्छ। ती कर्मचारीले भने, ‘एकपटक सूचना निकालेर भर्ना लिन खोजेका थियौं तर त्यो प्रक्रिया झनै झन्टिलो र अव्यावहारिक भयो। काम सुरु गर्दागर्दै अदालतमा मुद्दा पर्ने र सबै काम ठप्प हुने सम्भावना रहन्छ।’

कर्मचारी शाखाका अर्का एक कर्मचारीले भने, ‘विभागमातहतका १६ वटै एकाइ कार्यालयहरूले करार तथा ज्यालादारी कर्मचारी राखेका छन्। ज्यालादारी कर्मचारीको मात्र कुल संख्या ४ सय पुगेको छ।’ विभागले एक बेरुजु विशेष कर्मचारीलाई समेत करारमा राखेको छ। विभागका अनुसार इन्जिनियर २० जना, समाजशास्त्री एक, सबइन्जिनियर आठ, कम्प्युटर अपरेटर ४८, सहायक कम्प्युटर अपरेटर तीन, सामुदायिक परिचालक एक, हल्का सवारी चालक ३३, कार्यालय सहयोगी ३९, स्विपर चार गरी कुल १ सय ६९ जना कर्मचारी विभागमा करारमा कार्यरत छन्। 

त्यसैगरी एकीकृत सहरी पूर्वाधार विकास आयोजना समन्वय कार्यालयमा इन्जिनियर दुई, कम्प्युटर अप्रेटर ६, हल्का सवारी चालक दुई र कार्यालय सहयोगी चार गरी १४ कर्मचारी करारमा कार्यरत छन्। यसैगरी सहरी योजना तथा विकास केन्द्रमा कम्प्युटर अपरेटर दुई, हल्का सवारी चालक एक र कार्यालय सहयोगी एक गरी कुल चार जना, भवन निर्माण संहिता सरकारी भवन (सभाहलसमेत) आयोजना समन्वय कार्यालयमा इन्जिनियर ६, सूचना प्रविधि अधिकृत एक, कम्प्युटर अपरेटर पाँच, हल्का सवारी चालक तीन, कार्यालय सहयोगी दुई गरी कुल १७ जना र काठमाडौं उपत्यका फोहोरमैला व्यवस्थापन आयोजना एकाइ कार्यालयमा कम्प्युटर अपरेटर दुई, सामुदायिक परिचालक एक, हल्का सवारी चालक एक, कार्यालय सहयोगी दुई गरी कुल ६ जना करार कर्मचारी छन्।  

त्यस्तै सुरक्षित नागरिक आवास आयोजना समन्वय कार्यालयमा कम्प्युटर अपरेटर दुई, हल्का सवारी चालक एक, कार्यालय सहयोगी एक गरी चारजना करारमा छन्।

यसैगरी सहरी योजना करिडोर आयोजना समन्वय कार्यालयमा इन्जिनियर एक, कम्प्युटर अपरेटर तीन, हल्का सवारीचालक एक, कार्यालय सहयोगी एक गरी कुल ६ जना, नयाँ सहर आयोजना समन्वय कार्यालयमा इन्जिनियर चार, समाजशास्त्री एक, सबइन्जिनियर एक, कम्प्युटर अपरेटर ६, हल्का सवारी चालक तीन, कार्यालय सहयोगी तीन गरी कुल १८ जना, क्षेत्रीय सहरी विकास तथा समन्वय कार्यालयमा इन्जिनियर चार, कम्प्युटर अप्रेटर तीन, सहायक कम्प्युटर अपरेटर एक, हल्का सवारी चालक चार, कार्यालय सहयोगी पाँच गरी कुल १७ जना कर्मचारी करारमा छन्।

त्यस्तै विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयमा सब इन्जिनियर तीन, कम्प्युटर अपरेटर चार, सहायक कम्प्युटर अपरेटर दुई, हल्का सवारी चालक तीन, कार्यालय सहयोगी दुई गरी कुल १५ जना, सघन सहरी तथा भवन निर्माण आयोजनामा कम्प्युटर अपरेटर एक, हल्का सवारी चालक एक, कार्यालय सहयोगी एक गरी कुल तीन जना, सहरी शासकीय क्षमता तथा पूर्वाधार आयोजनामा इन्जिनियर तीन, कम्प्युृटर अपरेटर ६, हल्का सवारी चालक तीन, कार्यालय सहयोगी चार गरी कुल १६ जना तथा केन्द्रीय आयोजना कार्यान्वयन भवन र आवास महाशाखामा इन्जिनियर १०, सबइन्जिनियर चार, कम्प्युरट अप्रेटर चार, हल्का सवारी चालक ६ जना, कार्यालय सहयोगी चारजना गरी कुल २८ कर्मचारी करारमा कार्यरत छन्।

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भवन विभागमा ठुलो संख्यामा प्राविधिक कर्मचारी करारमा तथा ज्यालादारीमा कार्यरत रहेको जानकारी आफूले पाएको बताइन्। एउटै कार्यालयमा ठुलो संख्यामा करार तथा ज्यालादारी कर्मचारी कार्यरत हुनु राम्रो नहुने उनले बताइन्। करार तथा ज्यालादारी कर्मचारीको संख्या कटौती गर्न आफूले विभागको पुनःसंरचनाको काम सुरु गरेको उनले जानकारी दिइन्।

प्रकाशित: २४ श्रावण २०७९ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App