१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निष्प्राण र हानिकारक सरकार हामी बोक्न सक्दैनौंः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोक्न नसकिने बताएका छन्। उनले सरकारले मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान लागेको आरोप लगाए।

सोमबार च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आगामी संघीय संसद र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र तिनलाई समाधान हुने खालको एजेण्डा लिएर जनतामा जाने पनि स्पष्ट पारे।

यस्तै वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँड्न नसकिने अध्यक्ष ओलीको तर्क थियो। उनले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भइसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताए।

सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भइसकेकाले यसलाई कायम राखेर गए देशमा हैंजा फैलिने ओलीको भनाइ थियो। उनले सरकारका सबै अंगप्रत्यङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकीर समेत गरे।

सबै अंगप्रत्यङ्ग काम नलागेकी सतीदेवीलाई भगवान शिवले समेत बचाउन नसकेको स्मरण गराउँदै ओलीले वर्तमान सत्तारुढ गठबन्धन र सरकारको हालत पनि त्यही भएको बताए। उनले मुलुक संघीय संसद र प्रदेशसभाको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको पनि दोहोर्‍याए।

ओलीले भने, ‘अब यो गठबन्धनको सरकार चाँही चलेन, काम लागेन भन्ने स्पष्ट भयो। र, यसैलाई बोकिरहन चाँही अब उपयुक्त हुँदैन। यही सरकार बोकेर हिँडनु, एउटा हदसम्म बोक्नु पर्छ। तर निष्प्राण भयो। त्यो हानिकारक छैन भने पनि बोक्नु हुँदैन। हानिकारक छ भने झन बोक्नु हुँदैन। यसले हैजा फैलाउँछ। गठबन्धन देशका लागि यो मृत भइसक्यो। मृत भइसकेपछि सतिदेवीलाई शिवले काँधमा बोकेर हिँडदा भगवान शिवले बोकेर हिँड्दा त सतिदेवी काम लागिनन् भने यस्तो गठबन्धन बोकेर हिँडेर कुनै अर्थ छ? यो कुनै काम आउन सक्छ? यसको सबै अंग प्रत्यङग झेर एउटा अंग अस्ति झरेको देख्नु भयो। यसका अंगप्रत्यङग झर्दै जान्छन्। भ्रष्टाचारी अंगहरु झरेर पीठ बन्छ?’

त्यस्तै अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुने दाबी समेत गरे। उनले गठबन्धनलाई नक्कली विहेको संज्ञा दिँदै त्यसो गरेर साँचो डिभोर्स गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पटकपटक दोहोर्‍याए।

ओलीले भने, ‘नेकपा एमलेका निम्ति गठबन्धनको हेराफेरी सरकारको हेराफेरी आफ्नो भूमिकाको हेराफेरी होइन। देशमा जुन कुशासन छ, त्यसका ठाउँमा सुशासन ल्याउन सकिन्छ कि सकिदैंन। मुख्य त सुशासन र लोकतान्त्रिक अभ्यासतर्फ देशलाई फर्काउने कुरा हो। मैले गठबन्धनहरु बनाएर हेरेको छु। चलाएर हेरेको छु।'

यस्तै क्रमश उनले भने 'एक पल्ट विहे हुन्छ अनि फेरी डिभोर्स हुन्छ। अनि फेरी विहे हुन्छ अनि डिभोर्स हुन्छ। साँचो डिभोर्स गर्नका लागि नक्कली विहे गर्न एमाले हतार गर्दैन। अब गठबन्धन कति फलदायी हुन्छ भन्ने कुरा त अहिलेको सरकार जनताबाट खुइलिएको, जनताबाट कोपभाजन भइरहेको, घृणाको पात्र बनिरहेको कुराले बुझन सकिन्छ। सरकार मात्रै सब कुछ होइन। जनताले घोक्र्याएर, मुन्टयाएर निकालि दिन्छन्। कुरो कस्तो हुँदो रहेछ भने एलाइटहरुलाई मन परेन भने जनता त तिनीहरुले परिचालन गर्न सक्दैनन्। जनताबाट त हटाउन सक्दैनन्। अनि तिनीहरुले अर्को बाटो लिँदा रहेछन। अदालतको बाटोबाट हटाई दिने। अनि जनताले हटाउनु पर्‍यो भने चाँही राष्ट्रपति भवनमा गएर, प्रधानमन्त्री भवनमा गएर घेरेर, त्यहाँबाट निकालेर, ठाउँका ठाउँ राजीनामा गराउँदा रहेछन्। अहिले पनि हामी श्रीलंकातिर देखिराख्या छौं। यदि पपुलर हुन सकेन भने सरकार जनता आएभने अदालतले होइन, जनताले हटाउँदा रहेछन्। जनताबाट हटाउन सकिएन भने, जालझेल गर्नु पर्‍यो भने अनेक ठाउँहरु निक्लिदा रहेछन्। जनादेशको उलंघन भयो भने, जनादेश विपरीत चल्यो भने जनता उर्लिदो रहेछ। जनादेशबाट हटाउन त के हल्लाउन पनि सकिँदैन भने अदालत सदालतको प्रयोग हुँदो रहेछ। यो त २०५२ सालमा पनि हामीले देखेका हौं। यो २०७८ सालमा पनि हामीले देख्यौं। गठबन्धननै सब कुछ हो, एकछिन सत्तामा पुग्नु नै सबकुछ हो भन्ने कुरा होइन। हामी पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धन जस्तो होइनौं। त्यसकारण विचार गरेर मात्रै चल्छौं।’

प्रकाशित: २७ असार २०७९ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App