coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदीय छानविन समिती बनाउन माओवादी केन्द्र तयार, शर्मालाई संसदमा बोल्न नदिने एमाले रणनीति

बजेट बनाउँदा बाहिरिया व्यक्तिलाई संलग्नता गराएको आरोप खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माको प्रकरण छानविन गर्न माओवादी केन्द्र तयार भएको छ।

बुधबार (आज)को संसद बैठकमा अर्थमन्त्री शर्माले आफूमाथि उठेका प्रश्नहरु र आरोपहरुको जवाफ दिदै खण्डन गरेपछि मात्र संसदीय छानविन समिति गठन गर्न माओवादी तयार भएको बुझिएको छ। अर्थमन्त्री शर्माले आज संसदमा आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिने छन्।

उनले बुधबार बिहानको पार्टीको विस्तारित बैठकमा आफूमाथि उठेका प्रश्नहरुको जवाफ बुधबारकै संसदमा दिने जानकारी दिएका थिए। यता एमालेले भने अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने रणनीतिमा छ। एमालले नैतिक आधार गुमाएका अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने निर्णय गरेको हो। त्यसो त यसअघि पनि एमालेले अर्थमन्त्री शर्मा संसदमा बोल्दा अवरोध गर्दै आएको छ।

माओवादी केन्द्र भने संसदीय छानविन समिति गठन गर्नुपूर्व एमालेसँग छलफल गरेर अघि बढ्न चाहेको देखिन्छ। माओवादी केन्द्रको बुधबारको बैठकले एमालेसँग छलफल गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन बाहिरका अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको हो।

बजेट निर्माण दिनका सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्री शर्माको सर्वत्र आलोचना हुँदै आएको छ। एमाले बाहेक प्रमुख सत्तारुढ दल नेपाली कांगेसकै महामन्त्री गगन थापा समेतले अर्थमन्त्री शर्माले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर भएपनि बजेट निर्माण प्रकरणको छानविन गर्नुपर्ने बताइसकेका छन्।

यसैगरी अन्य साना प्रतिपक्ष दलहरुले पनि राजीनामा र छानविको माग राख्दै आएका छन्। नागरिक समाजका अगुवाहरुले पनि संयुक्त विज्ञप्ति जारी गर्दै अर्थमन्त्री शर्माको राजिनामा मागेका छन्। विभिन्न दल तथा संगठनहरुले शर्माविरुद्ध मंगलबारदेखि सडक आन्दोलन पनि गरिरहेको छन्।

प्रकाशित: २२ असार २०७९ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App