४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धरानमा राजनीतिक दललाई स्वतन्त्र उम्मेद्वारको चुनौती

धरानको मतगणना भइरहदा नतिजा सुन्न प्रतिक्षारत मतदाता तथा विभिन्न दलका कार्यकर्ताहरु ।

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनाको नतिजा शनिबार सार्वजनिक हुन शुरु भएदेखि नै राजनीतिक दलहरुले सुखद् सन्देश पाएका छैनन।

धरानको वडा नं १, २ र ३ को १२ सय मतगणना सकिएर नतिजा सार्वजनिक हुँदा अपेक्षाकृत लोकतान्त्रिक गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेद्वार किशोर राई अगाडि रहे। उनले ४५१ मत पाएका छन्। वडा १ र २ कांग्रेसको प्रभाव भएको क्षेत्र हो। गठबन्धन अग्रता लिइरहदा दोस्रो स्थानमा भने अप्रत्यासित मेयरका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मत पाएका छन्। बाह्र सय मत गणना हुँदा साम्पाङले ३२६ मत प्राप्त गरेका छन्।  

२०७४ को स्थानीय तह निर्वाचनमा पहिलो बनेको पार्टी नेकपा एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारीले २४२ मत प्राप्त गरिन्। एमालेको लागि यो नतिजा अप्रत्यासित हो। गठबन्धन र एमालेबीच तीब्र प्रतिस्पर्धा हुने अनुमान गरिए पनि प्रारम्भिक नतिजाले ठुला दललाई स्वतन्त्र उम्मेद्वारले चुनौती दिएका छन।

हुन त निर्वाचन प्रचारप्रसारको क्रममा नै स्वतन्त्र उम्मेद्वार साम्पाङले नतिजामा उलटफेर गर्नसक्ने आँकलन गरिएको थियो। २०७४ मा धरानको प्रमुख समस्या खानेपानीलाई चुनावी मुद्दा बनाएको कांग्रेस र एमालेले ५ बर्ष अवधि पुरा गर्दा पनि समाधान गर्न सकेन। त्यसैको फाइदा उठाउदै साम्पाङले यो चुनावमा खानेपानीलाई चुनावी मुद्दा बनाए। खानेपानीको प्रमुख समस्या भएको क्षेत्रबाट उनलाई राम्रो मत आउने अनुमान थियो। प्रारम्भिक नतिजाले अनुमान सहि थियो भन्ने देखिन्छ।

धरानका अग्रज पत्रकार एवं विश्लेषक महेश श्रेष्ठ स्वतन्त्र उम्मेद्वारले पाएको मत सहरी क्षेत्रका मतदाताहरुको असन्तुष्टी भएको बताउँछन्। खानेपानीको चरम समस्या भएको कारण पनि ती क्षेत्रका जनताले विकल्पकोरुपमा साम्पाङलाई भोट दिएको उनले बताए। वडा १, २ र ३ धरानको मुख्य बजार क्षेत्र हो। ‘यो मतले पार्टीहरुलाई चुनौती दिएको छ । उम्मेद्वार भिजनवाला हुनुपर्छ भन्ने होइन, तर राजनीतिक दलहरुको आश्वासबाट दिक्क भएका जनताले विकल्प खोजे,’श्रेष्ठ भन्छन्।

विश्लेषक श्रेष्ठ अब राजनीतिक दलहरुले विगतमा पाएको मतसंख्या गनेर बस्ने अवस्था नरहेको टिप्पणी गर्छन्। साथै, राजनीतिक दलहरुले आफुलाई सच्याउन सकेन भने जनताले विकल्प खोज्ने सन्देश दिएको पनि उनले बताए। ‘दलहरुको हिजोको मत अटल थियो, तर आज चल देखियो । कुनै पनि बेला प्रभावित हुने रहेछ भन्ने देखियो,’उनी भन्छन्,‘दलहरु सच्चिएन भने, इमान्दारितापुर्वक जनताको माझमा आउन सकेन भने सिद्धिन्छन् भन्ने देखियो।’  

प्रकाशित: ३१ वैशाख २०७९ १८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App