coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

३७९ केन्द्रमध्ये४७ मा महिला मतदान अधिकृत

स्थानीय तह निर्वाचनका लागि जिल्लाका मतदान केन्द्रहरूमा कर्मचारी खटाइएको छ। जिल्लाका एक सय ३६ मतदान स्थलअन्तर्गतका तीन सय ७९ केन्द्रमा प्रत्येकमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीनजना सहायक कर्मचारी खटाइएको छ। तर जिल्लाका धेरैजसो मतदान केन्द्रमा पुरुष मतदान अधिकृत तोकिएको पाइएको छ।

मतदान अधिकृतका लागि अधिकृतस्तरको कर्मचारी हुनुपर्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार जिल्लाका तीन सय ७९ मतदान केन्दमध्ये ४७ वटामा महिला मतदान अधिकृत तोकिएको छ। जुन कुल मतदान अधिकृत संख्याको १२ प्रतिशत हो।

बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी कतिपय अधिकृतस्तरका महिला कर्मचारी कार्यालयमै मतदानका लागि खटिने भएकाले सूचीमा नपरेको हुनसक्ने बताउँछन्। मुख्य निर्वाचन अधिकृत कार्यालयको कर्मचारी विवरणमा उल्लेख भएअनुसार जिल्लाका तीन सय ७९ मतदान केन्द्रमध्ये सबैभन्दा बढी नेपालगन्जका २० केन्द्रमा महिला मतदान अधिकृत छन्।  

कोहलपुर नगरपालिकाका १० वटा केन्द्र महिला मतदान अधिकृतलाई जिम्मा दिइएको। यसैगरी जानकीका ६, वैजनाथका पाँच, खजुराका तीन, राप्तीसोनारीका दुई र डुडुवाको एक मतदान केन्द्रमा महिला मतदान अधिकृत तोकिएको छ।

मुख्य निर्वाचन अधिकृत तिवारीले सदरमुकामभन्दा टाढाका मतदान केन्द्रमा जान महिलाले अनिच्छा देखाएकाले नेपालगन्ज र कोहलपुरमा बढी महिला मतदान अधिकृत परेको बताए। जिल्ला निर्वाचन कार्यालयको कर्मचारी विवरणअनुसार आफूहरूले कर्मचारीको बाँडफाँट गरेको र ग्रामीण क्षेत्रमा परेका महिला कर्मचारीले बजारतिर सारिदिन माग गरेकाले कुनै ठाउँमा पुरुषमात्रै मतदान अधिकृत परेको हुनसक्ने जानकारी उनले दिए। ‘उहाँहरूले टाढा जान समस्या हुने भनेर अनुरोध गरेपछि हामीले सजिलो बनाइदिएको मात्रै हो। यसलाई अन्यथा नबुझौं,’ मुख्य निर्वाचन अधिकृत तिवारीले भने।

बाँकेका कुनै पनि स्थानीय तहमा महिला निर्वाचन अधिकृत तोकिएको छैन। मतदान केन्द्रको जिम्मेवारी पाउँदा महिला मतदान अधिकृतमा थप उत्साह देखिएको छ। उनीहरूले आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताएका छन्। पुरुषजत्तिकै आफूहरू पनि सक्षम भएको भन्दै उनीहरूले यसलाई एउटा अवसरका रूपमा पनि लिएको देखिन्छ।

महिला अधिकारकर्मी मैमुना सिद्दीकी बाँकेमा महिला मतदान अधिकृत हुन अति आवश्यक रहेको बताउँछिन्। उनका अनुसार बाँकेमा मुस्लिम समुदायका महिला अनुहार ढाकेर आउँछन्। यस्तो अवस्थामा पुरुष मतदान अधिकृतले मुस्लिमा महिलाको अनुहार पहिचानका लागि हेर्न खोजे असजिलो हुने उनको भनाइ छ।

निर्वाचन पर्यवेक्षणमा पनि खटिएकी सिद्दीकीले नरैनापुर जस्तो मुस्लिम बाहुल्य ठाउँमा एउटा पनि महिला मतदान अधिकृत नहुनुलाई यहाँको सामाजिक संवेदनशीलतालाई नबुझेको अर्थमा लिनुपर्ने बताइन्। उनी भन्छिन्, ‘महिला मतदान अधिकृत हुँदा मुस्लिम मतदाता महिलालाई धेरै सजिलो महसुस हुन्छ। विशेषगरी मुस्लिम महिलालाई महिला कर्मचारी हुन आवश्यक छ। कतिपय अशक्त महिलालाई हात समातेर पनि मतदान केन्द्रमा लैजानुपर्ने हुन्छ। त्यस्तोमा महिला भए भने उनीहरूको संवेदनशीलतालाई बुझिदिन सक्छन्।’

प्रकाशित: २८ वैशाख २०७९ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App