१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'शीर्ष नेतृत्वबाट निर्वाचन थिचोमिचो गर्ने शैली अपनाइएको छ'

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताएका छन्।

मंगलबार आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन्।

स्थानीय निर्वाचनमा स्थानीय स्तरका सरोकार र समस्याको सम्बन्धमा छलफल गर्नुपर्ने भएपनि राजनीतिक दलका शीर्ष नेतृत्वहरुबाट स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाइएको उनले बताए।

स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीय पहिचानलाई परिपोषण गर्नुपर्नेमा नेताहरुले त्यसलाई विस्थापित गरेको उनको भनाइ छ। उनले दलका शीर्ष नेताहरुले वाकयुद्ध गरिरहेका बताए। नेताहरुका बिचमा सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुनुपर्नेमा त्यसो हुन नसकेको उनले उल्लेख गरे।

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले लोकतन्त्रको विकासको निम्ति निर्वाचन स्वच्छ हुनुपर्ने बताइन्। उनले निर्वाचनमा उम्मेदवार र जनता अनुशासित भएमा दुईजना व्यक्तिले मात्रै हजारौँ हजारको निर्वाचन गराउन सक्ने बताइन्। स्वच्छ निर्वाचन गराउन निर्वाचन आयोगले पहल गराउनुपर्ने र जनतापनि शिक्षित हुनुपर्ने उनले बताइन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)की अध्यक्ष इन्दिरा श्रेष्ठले निर्वाचन आचारसंहिताको पालना गर्ने मुख्य दायित्व राजनीतिक दलको भएको बताइन्। उनले दलका साथसाथै सबै नागरिकको पनि निर्वाचन आचारसंहिता पालना गर्ने दायित्व भएको बताइन्।

आचारसंहिताको उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कानूनी दायरामा ल्याउनुपर्ने बताइन्। उनले निर्वाचनलाई विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले निर्वाचनको सवल र दुर्लभ पक्ष देखाउँदै निर्वाचन पर्यवेक्षण गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: २७ वैशाख २०७९ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App