२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

इलामको मेयर दौडमा पत्रकार चेम्जोङ

इलाम नगरपालिकाको मेयर उम्मेदवार धीरेन चेम्जोङ। तस्बिर: भीम नागरिक

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा इलाम शाखाका पूर्वसभापति धिरेन चेम्जोङ इलाम नगरपालिकाको मेयरको चुनावी दौडमा छन्। नेकपा (एमाले)ले उनलाई नगरको मेयर उम्मेदवार बनाएको हो।

पत्रकारिता मात्र नभई फुटबलका पूर्वखेलाडी समेत रहेका चेम्जोङ माइभ्याली फुटबल क्लबको अध्यक्ष पनि हुन्। माइभ्याली छैटौं संस्करणसम्म सम्पन्न गर्दा जिल्लाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिताका रूपमा चिनिएको छ।

चेम्जोङ महेन्द्ररत्न बहुमुखी क्याम्पसको जागिरेसमेत थिए। उनले सक्रिय राजनीतिमा प्रवेश गर्न गत वर्ष जागिरबाट राजीनामा दिए। जिल्ला सदरमुकाम समेत रहेको इलाम नगरपालिकाको मेयरका प्रत्यासी चेम्जोङले १३ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीति सुरु गरेका थिए। क्याम्पसमा जागिरे भएकै बेला उनी इलामको पत्रकारितामा प्रवेश गरे उनले। सुरुमा दृष्टि साप्ताहिक र त्यसपछि जनआस्थामा काम गरे। उनीसहितको समूहले इलाममा सूूत्रधारश्री, लोकतन्त्र साप्ताहिक लगायत पत्रपत्रिका प्रकाशन गरेको थियो। उनी त्यसयता नेपाल पत्रकार महासंघ इलाम शाखाको दुई कार्यकाल लगातार सभापति बने र महासंघको केन्द्रीय सदस्यसमेत भए।

‘२०४६ सालको परिवर्तनपछि शासक–प्रशासकसँग जुध्ने बलियो माध्यम कलम वा पत्रकारिता नै हुन्छ भन्ने भएपछि म पत्रकारितामा होमिएँ,’ उनले सुनाए, ‘मेरो स्वभाव नै अन्याय, अत्याचार र भुईं मान्छेको पीडा सहन सक्नेखालको छैन। त्यसैले पत्रकारितामा होमिएको थिएँ।’ त्यतिबेला मिसन पत्रकारिता गरेको र कलमको माध्यमबाट अन्याय–अत्याचारविरुद्ध राज्यद्रोह नै गरेको उनी सम्झन्छन्। ‘देशमा पञ्चायती तानाशाह उन्मूलन हुनुुपर्छ र सामन्तवादको प्रतीकका रूपमा रहेको राजसंस्था फाल्नुपर्छ भन्ने ध्येय थियो,’ उनले भने, ‘त्यही कामका लागि पत्रकारितालाई माध्यम बनाइएको थियो।’

निडर, साहसी र स्पष्टवक्ताका रूपमा चिनिने चेम्जोङले इलाम नगरलाई आफ्नो नेतृत्वमा पाँच वर्षपछि ‘आहा!’ भनेर चिनाउने खालको बनाउने लक्ष्य लिएका छन्। भन्छन्,‘इलाम नगरपालिकाका लागि आउँदो पाँच वर्षको मेरो सपना निद्रामा देखेको सपना होइन, बिहान उठेपछि देखेको हो। त्यसैले त्यो सपना पूरा गर्छु।’ उनले वैकल्पिक स्रोत खोजेर भए पनि उच्चदरको कर घटाउने र अव्यावहारिक कर हटाउने योजना सुनाए।

उनका अनुसार इलाम नगरका विशेषगरी चार सम्भावना कषि–पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटन हुन्। ‘समग्रमा नगरलाई ५ वर्षपछि आहा! भन्ने खालको बनाउने हो,’ उनले भने, ‘पाँच वर्षमा नगरमा समृद्ध इलाम, सुखी इलामबासीको आधार तयार भएको हुनेछ।’ उनले आफू पार्टीको भूमिगतकालदेखि नै नगरबासीका घरघर चहारेको व्यक्ति भएकाले आफू विजयी हुने दाबी गरे।

उनको मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका केदार थापा छन्। थापा पनि इलामका सामाजिक व्यक्तित्व भएकाले चेम्जोङ र थापाबीच बलियो चुनावी प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा(एमाले)का महेश बस्नेत कांग्रेसका जिल्ला तत्कालीन सभापति हिमालय कर्माचार्यलाई पराजित गरी इलाम नगरको मेयरमा विजयी भएका थिए।

प्रकाशित: २६ वैशाख २०७९ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App