२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मतपत्र छपाइ सम्पन्न

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न गरेको छ।

आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाइको काम सम्पन्न भइसकेको जानकारी दिँदै वैशाख २३ सम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताए। ‘मतपत्र छपाइको काम सकिएको छ,’ उनले भने, ‘शुक्रबारसम्म मधेस प्रदेशमा पुर्‍याउने गरी ढुवानीको तयारी गरिएको छ। वैशाख २३ सम्म सबै जिल्लामा ढुवानी भइसक्नेछ।’

निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटाइएको ठाउँबाट फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कर्मचारीले निर्वाचनका काममा खटिन इन्कार गरे प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ। ‘मतदानका लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा खाटाइएको ठाउँमा अविलम्ब जान र तोकिएको जिम्मेवारी पूरा गर्न आयोगको आदेश छ,’ प्रवक्ता पौडेलले भने।

आयोगले हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न आग्रह गरेको छ। ‘कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भनी माननीय मुख्यमन्त्री भट्टले अभिव्यक्ति दिएको जानकारी आयोगमा प्राप्त भएकाले निर्वाचन आचारसंहिता–२०७८ को व्यवस्थाअनुसार उहाँलाई आयोगले २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न भनेको छ,’ उनले भने।

निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि निर्वाचन आचारसंहिता–२०७८ को प्रतिकूल हुने गरी अभिव्यक्ति दिएको भन्दै २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ। उनले निर्वाचन आयोग, आयुक्तहरू, आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएका थिए।

रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का अध्यक्ष धर्मनाथ चौधरीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गरेकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ।

त्यसैगरी एमालेका काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापितले प्रतिस्पर्धी उम्मेदवार बालेन शाहविरुद्ध अभिव्यक्ति दिएको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडाअध्यक्ष उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम २४ घन्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ।

 वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको प्रचारप्रसारमा खटिएको फोटो निर्वाचन आचारसंहिता, २०७८ विपरीत सामाजिक सञ्जालमा आएको हुँदा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले आदेश दिएको छ। 

प्रकाशित: २३ वैशाख २०७९ ००:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App