१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इतर पक्षमा सहमतिको सम्भावना टर्दै

साझा उम्मेदवार छनोटका लागि छलफलमा जुटेका नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरूले फेरि आआफ्नो अडान दोहोर्‍याएका छन्। प्रदेश निर्वाचनको परिणामपछि साझा उम्मेदवार बनाउन संस्थापन इतरका नेता माथि थप दवाव परेपनि सोमबार छलफलमा जुटेका सभापतिका आकांक्षीहरूले आ–आफ्नो दावेदारी दोहोर्‍याएका हुन्।

नेता रामचन्द्र पौडेलनिवास बोहोराटारमा सोमबार साझा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सहभागी थिए। छलफलमा सहभागी चारैजना नेताले सभापतिमा आ–आफ्नो दाबेदारी फेरि प्रस्तुत गर्दै उनीहरूले एकअर्कालाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। आफूबाहेक अर्कोले जित्नै नसक्ने दाबी गरेका चार आकांक्षीहरू साझा उम्मेदवार दिन नसके १४औं महाधिवेशनबाट शेरबहादुर देउवाको विकल्प दिन नसकिनेमा भने सहमत देखिएका छन्।

तीन नेताबीच सहमति निर्माण भए आफू त्यसको बाधक नहुने नेता पौडेलले बताउँदै आएका छन्। आफु बाहेक अर्को उम्मेदवार हुँदा पार्टी नेतृत्व लिनसक्ने सम्भावना कमजोर हुने भन्दै अन्य आकांक्षीहरू वास्तविकता बुझ्न आग्रह गरे।

तर, शेखर र सिंहले आ–आफ्नो अवस्था मजबुत रहेको भन्दै जिल्ला सभापतिसहितका नेताहरूले भनाइ सुन्नुपर्ने धारणा राखेकाथिए। पूर्वमहामन्त्री सिंहले सधैं आफूले मात्र त्याग गर्नुपरेको भन्दै यस पटक अन्य नेताहरू पनि त्यागका लागि तयार हुन आग्रह गरे। सहमतिको पक्षमा लचिलो देखिएका शशांकले आफ्नो अवस्था नै मजबुत भएको जिकिर भने गरेका छन्।

जिल्लादेखि प्रदेशसम्मको निर्वाचनको समीक्षा पनि गरेका उनीहरू आ–आफ्नो अडानमा कायमै रहेपछि मंगलबार निकट केन्द्रीय सदस्यहरूको बैठक बस्ने सहमति गर्दै उठेका छन्। पूर्वमहामन्त्री प्रकशमान सिंहको निवासमा दिउँसो १ बजे नेता पौडेलले इतर पक्षको भेला बोलाएका हुन्।

भोलि बसेर एउटा निष्कर्षमा पुग्ने भनेर नेताहरू उठेको जानकारी दिँदै निकट एक सदस्यले भने, ‘सबैको आ–आफ्नो अडान कायमै छ। सहमतिको सम्भावना कमजोर बन्दै गएको छ।’

सहमति नजुट्दा नेता पौडेल र महामन्त्री शशांक सभापतिको प्रतिस्पर्धाबाट बाहिरिने सम्भावना रहेको पनि निकट एक सदस्यले दाबी गरे। तर,सहमतिबाट साझा उम्मेदवार बनाउनका लागि दबाब खडा गर्न भन्दै इतर पक्षका युवा नेताहरूले केही जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूको भेला बिहान ९ बजे बोलाएका छन्।

साझा उम्मेदवार बनाउनका लागि नेताहरू माथि दवाव खडा गर्न नै भेला राखिएको जनाउँदै एक सदस्यले भने, ‘त्यहाँबाट आएको सुझावअनुसार १ बजे नेताहरूले बोलाउनु भएको बैठकमा हामी प्रस्तुत हुन्छौं।’

सभापतिका आकांक्षीहरू सहमतिका लागि तयार नभए महासमिति र महाधिवेशन प्रतिनिधिसहित बृहत् भेलाबाट दवाव खडा गर्ने र नभए सभापति बाहेकका पदमा युवाहरूले प्यानल बनाउने तयारी गरेका छन्। मंगलबार बिहानको भेलामा केन्द्रीय समितिमा विभिन्न कलस्टरबाट उम्मेदवार बनाउनका लागि प्रारम्भिक सूची पनि उनीहरूले तयार गर्नेछन्।

प्रकाशित: २१ मंसिर २०७८ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App