१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान

एमालेको दसौं महाधिवेशनको बन्दसत्र हलमा अध्यक्षमण्डलका तर्फबाट केपी शर्मा ओलीले आइतबार राति प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेका छन्।

अध्यक्षमा उम्मेदवारी दिने भन्दै रावलले अस्वीकार गरेका हुन्। भुसालले पनि सूचीबाट लोकतन्त्रको चिरहरण भएको भन्दै अस्वीकार गरेका हुन्। उनीहरूले ओलीको सूचीलाई अस्वीकार गरेपछि अन्ततः अध्यक्षसहितका केही पदमा निर्वाचन हुने भएको छ।

सहमति हुन नसकेपछि निर्वाचन आयोगले आइतबार राति साढे ११ बजे निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, दाबी विरोध,उम्मेदवारी दर्तालगायतका कार्यक्रम राति नै सम्पन्न गर्ने तय भएको थियो। यसअनुसार मतदाता नामावली प्रकाशन गरिएको थियो।

तर पछि निर्वाचनका बाँकी काम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको सूचना राति अबेर प्रकाशन गरिएको छ। प्राविधिक कारण देखाउँदै रातिका लागि तोकिएको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम स्थगित गरिएको हो। स्थगित कार्यक्रम सोमबार बिहान ८ बजेबाट अघि बढाइने छ। कार्यतालिकामा राति २ः१० बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ९ बजेबाट मतदान सुरु हुने उल्लेख गरिएको थियो।

सहमति जुटाउनका लागि भएको छलफलमा अध्यक्षमण्डलका तर्फबाट ओलीले पार्टी महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका थिए। त्यसलाई महासचिवका अर्का दाबेदार विष्णु पौडेलले अस्वीकार गरेका थिए। तर पछि पौडेललाई मनाइएको स्रोतको दाबी छ।

पार्क सफारीमा अध्यक्षमण्डलको बैठक बस्नुअघि शीर्ष नेताहरूसँगको छलफलमा ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेका थिए। महासचिवका अर्का दाबेदार पौडेललाई सहमत गराएरै ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेको हुन्। एमाले–माओवादी एकीकरणपछि बनेको नेकपामै महासचिव भइसकेका पौडेललाई ईश्वर पोखरेलपछिको वरीयतामा उपाध्यक्ष प्रस्तावित गरिएको थियो। तर उनले चित्त बुझाएका छैनन्।

निवर्तमान महासचिव पोखरेल वरिष्ठ उपाध्यक्ष हुँदा भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष प्रस्ताव गरिएको छ। उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई प्रस्ताव गरिएको छ।

पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची अध्यक्ष ओलीले बन्दसत्रमा पेस गरेका थिए। उनले सचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराईलाई प्रस्ताव गरेका थिए। उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमा प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेपछि अध्यक्षलगायतका केही पदमा निर्वाचन हुने भएको हो।

राति अबेर सुरु भएको बन्द सत्रमा ओलीले आफूले तयार पारेको सूची पढेर सुनाएका थिए। नेताद्वय ईश्वर पोखरेल र सुवास नेम्वाङबीच ओलीपछिको वरीयतामा रहेको वरिष्ठ उपाध्यक्ष को हुने भन्नेमा लामो रस्साकस्सी भए पनि अन्ततः पोखरेलले त्यो अवसर पाएका छन्।

विगतमा पार्टीभित्र देखिएको विवादमा स्थायी कमिटीमा रहेका पोखरेलले ओलीलाई अनवरत रूपमा साथ दिएका कारण पनि पोखरेल यसपटक ओलीको छनोटमा परेका हुन्। तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको टक्करमा होस् अथवा नेता माधवकुमार नेपालसँगको संघर्षमा, पोखरेल ओलीको रक्षाकवच बन्दै आएका थिए।

पार्टीमा दुईपटकसम्म महासचिव रहेका पोखरेलले अध्यक्षमा ओलीलाई छाडिदिएपछि वरिष्ठ उपाध्यक्षका स्वाभाविक हकदार पनि थिए। त्यसमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन पनि पोखरेललाई नै भएका कारण यसपटक वरिष्ठ उपाध्यक्षका लागि उनको पल्ला भारी भएको हो।

अर्काेतर्फ नेम्वाङले पनि ओलीलाई साथ दिँदै आएका हुन्। तर ओलीले दुईदुईपटक प्रतिनिधिसभा विघटन गरेको विषयमा आन्तरिक रूपमा नेम्वाङको असहमति थियो भलै उति बेला उनले त्यो कुरा मुखर नगरे पनि पछि आफैंले प्रतिनिधिसभा विघटन गर्नु गलत हुने भनी सुझाव दिएको प्रस्टीकरण दिएका थिए। नेम्वाङको यस किसिमको प्रस्टीकरणका कारण पनि ओलीको रोजाइमा उनीभन्दा पोखरेल नै रहेको निकट स्रोतहरूले जनाएका छन्।

त्यसो त पार्टीभित्रको विवादमा नेता नेपाललाई साथ दिए पनि अन्तिम समयमा एमालेमा नै अडिएका भीम रावल पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी थिए। वरिष्ठ उपाध्यक्ष नपाउने भएपछि उनी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न तम्सिएका हुन्। त्यति हुँदाहुँदै पनि आफूपछिको वरियता रावललाई दिन ओली कुनै हिसाबले पनि तयार नभएका कारण वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पोखरेलले पाएका हुन्।

वरिष्ठ उपाध्यक्षसँगै महासचिव पदको व्यवस्थापन पनि पेचिलो विषय भएको थियो। आफ्ना विश्वासपात्रका रूपमा रहेका नेताद्वय विष्णु पौडेल र शंकर पोखरेल दुवैले महासचिवको दाबी नछाडेका कारण पनि महासचिव व्यवस्थापन ओलीका लागि अप्ठ्यारो थियो।

विगतमा नेकपामा महासचिव भइसकेका पौडेलले अहिले फेरि सोही पदका लागि दाबी गर्नु अन्यथा थिएन। त्यसमाथि पार्टीभित्र र बाहिर समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने पौडेललाई ओली चिढ्याउन चाहँदैनथे।

अर्काेतर्फ वैचारिक नेताको छवि बनाएका शंकर पोखरेललाई ओली आफ्नो उत्तराधिकारीको रूपमा स्थापित गर्न चाहन्छन्। त्यसमाथि अन्य पार्टीहरूसँग वैचारिक संघर्ष गरेर अघि बढ्न पोखरेलजस्ता नेताको साथ ओलीलाई चाहिएको थियो।

महासचिवमा नेता सुरेन्द्र पाण्डे पनि आकांक्षी थिए। पार्टी विवादको अन्तिम चरणमा नेपाललाई साथ नदिई एमालेमा रहेका पाण्डेको पनि व्यवस्थापन गर्नु थियो। यो अवस्थामा ओलीले पोखरेललाई महासचिव र पौडेल तथा पाण्डेलाई उपाध्यक्ष बनाएर आफूनिकट र १० बुँदे पक्षधर नेताको व्यवस्थापन गरेका हुन्।

त्यस्तै १० बुँदे पक्षधर अष्टलक्ष्मी शाक्य,भीम रावलका साथै माओवादीबाट एमालेमै रहेका रामबहादुर थापालाई उपाध्यक्ष दिएर व्यवस्थापन गरेका छन् भने आफ्नै पक्षका नेम्वाङलाई पनि उपाध्यक्षमा व्यवस्थापन गरेका छन्। त्यस्तै विगतमा उपाध्यक्ष भइसकेका युवराज ज्ञवालीलाई पार्टी अनुशासन आयोगको जिम्मेवारी दिएर व्यवस्थापन गरेका छन्।

पार्टीभित्र असन्तुष्ट रहेका घनश्याम भुसाललाई साबिककै पद उपमहासचिवमा व्यवस्थापन गर्ने भएका छन् भने अन्य दुई उपमहासचिवमा प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ रहने भएका छन्।

नेम्वाङको व्यवस्थापनमा चुनौती

वरिष्ठ उपाध्यक्ष पदमा सुवासचन्द्र नेम्वाङले दाबी गरेपछि अध्यक्ष केपी शर्मा ओलीलाई निकै सकस परेको थियो। उनले आइतबार दिउँसो आफू निर्वाचन लड्न तयार रहेको तर पोखरेललाई छाड्न तयार नभएको सन्देश पठाएपछि ओलीको दिनभर दुईतीन घण्टाको समय पोखरेल–नेम्वाङ मिलाउन बितेको थियो।

नेम्वाङले कुनै पनि हालतमा वरिष्ठ उपाध्यक्ष नछाड्ने,बरु सो पद खारेज गर्नुपर्ने, सो पद राखिए निर्वाचन लड्ने अडान राखेका थिए। त्यसमा नेम्वाङलाई पृथ्वीसुब्बालगायत नेताहरूले बलियो साथ दिएका थिए। त्यसपछि ओलीले दुवै नेतालाई बोलाएर कुराकानी गर्न खाजेको भए पनि नेम्वाङले मानेनन्। उनले आफू पार्टीभित्र सिनियर रहेको बताउँदै कोहीभन्दा केही कम नभएको समेत बताएका थिए।

४ बजेतिर नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्न पठाएको प्रस्तावलाई विचार गर्न सकिने बताएपछि मात्रै केन्द्रीय सदस्यहरूको सूचीमा नेताहरूले अन्तिम गृहकार्यका लागि ओलीलाई प्रिन्ट गरेर बुझाएका थिए। त्यसपछि राति ८ बजे पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली मिलाउन ओलीसँग छलफलमा बसेका निकट नेताहरू सहमति गरेर बाहिरिएका थिए।

उनीहरूले संशोधित विधानको ३०१ जना केन्द्रीय सदस्यको सूची तयार गरेर अध्यक्ष ओलीसँग बसेर बाहिरिएका थिए। ओलीसँग छलफलमा रहेका नेताहरू विष्णु पौडेल, ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले लामो समय छलफल गरेर सहमतिमा नाम टुंगो लगाएका थिए ।

ओलीको अन्तिम दृष्टि

आइतबार बिहान १० बजे सुरु हुनुपर्ने बन्द सत्र साँझ ८ बजे मात्रै सुरु भएको थियो। त्यसअघि दिनभर सहमतिका लागि प्रयास गरिएको भए पनि खास सहमति जुट्न सकेको थिएन। उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य शंकर पोखरेल रहेको टिमले केन्द्रीय सदस्यहरूको सूची तयार पारेको थियो।

सौराहाको होटेल सेभेन स्टारमा बन्दसत्र स्थल भए पनि अध्यक्ष ओली र उनको ‘कोर टिम’ले भने होटेल सफारी पार्कमा बसेर केन्द्रीय सदस्यको सूची तयार पारेको थियो। ओलीसहित नेताहरू विष्णु पौडेल, शंकर पोखरेल,प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललगायत नेताहरू होटेल सफारी पार्कमै थिए। निवर्तमान महासचिव ईश्वर पोखरेल पनि ओलीसँगै थिए। अध्यक्ष ओली बसेको होटेल सफारी पार्कमा विभिन्न नेता पटकपटक छलफलमा जुटिरहेका थिए तर ओलीलाई भेट्न भने सकेका थिएनन्।

सूची तयार पार्दा रावलको आपत्ति

दसौं महाधिवेशनको बन्दसत्र बिहान १० बजे सुरु हुने भनिएको थियो तर अबेरसम्म सुरु नभएपछि निवर्तमान उपाध्यक्ष भीम रावलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका थिए। सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले असन्तुष्टि जनाउँदै पार्टी निर्णयविपरीत अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसी विधि र पद्धतिविपरीत कार्य गरेको भन्दै उनले आपत्ति जनाएका थिए। ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णयविपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णयविपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ,’ रावलले भनेका थिए। पार्टी अध्यक्ष ओली बसेको होटेल सफारी पार्कमा नेताहरू पटकपटक छलफलमा जुटिरहेका थिए। आफूलाई प्रत्यक्ष छलफलमा नबोलाइएको भन्दै रावल भने छलफलमा सहभागी भएका थिएनन्। ओलीले आफूनिकट नेताहरूमार्फत रावललाई आफू बसेको होटेलमा आउन सन्देश पठाएका थिए। तर, उनी भेट्न गएका थिएनन्।

ओलीका पक्षमा नाराबाजी

एमाले दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र निर्धारित समयभन्दा १२ घण्टापछि सुरु भएपछि ओलीको पक्षमा नाराबाजी गरेका थिए। बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि बाहिर नाराबाजी भएको थियो।

ओली पक्षका समर्थकले ओलीको पक्ष र भीम रावलको विपक्षमा नाराबाजी गरेका थिए। उनीहरूले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’, ‘नेकपा एमाले जिन्दावाद’, ‘भीम रावल मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए। ‘वीर सहिद लालसलाम’, ‘पार्टी फुटाउने मतियार होसियार’, ‘केपी बा वी लभ यु, पार्टी फुटाउने मतियार होसियार’, ‘केपी ओली जिन्दावाद’ लगायत नारा लगाइएका थिए। त्यसक्रममा उनीहरूले भीम रावलको पर्चासमेत च्यातेका थिए।

प्रकाशित: १३ मंसिर २०७८ ००:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App