नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रको बिगुल फुक्ने पहिलो व्यक्ति थिए, दुर्गानन्द झा। उनको आज ६३ औँ स्मृति दिवस हो।
उनले राजा महेन्द्रको गाडीमाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरेको ४५ वर्षपछि देशमा गणतन्त्र आयो। उनी गणतन्त्रका लागि बलिदानी दिएको ५२ वर्षपछि सहिद घोषणा भए। तर उनी गणतान्त्रिक सरकारको प्राथमिकताबाट ओझेल पर्दै आए।
नेपालमा गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे। तर नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्यो। उनको परिवारलाई सरकारले अझै सहिद परिवारसरहको सम्मान दिन सकेको छैन, पुराना राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘मधेस र मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो।’ जसले नेपालमा गणतन्त्रको शंखघोष गरे। राजाको खिलाफ बोल्ने साहससम्म नगर्ने समयमा जसले राजामाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरे।
मण्डल भन्छन्, ‘गणतान्त्रिक मुलुकमा दुर्गानन्दको बलिदानी ओझेल पर्नु विडम्बना हो।’ यद्यपि त्यो हमला ज्यान लिने उद्देश्यले गरिएको थिएन। राजाबिनाको तन्त्र कल्पना गर्नु पनि अपराध करार हुने समयमा दुर्गानन्दले राजामाथि बम फ्याँकेर साहस मात्र प्रदर्शन गरेका थिएनन्,’ मण्डल भन्छन्, ‘राजा चाहिँदैन भन्ने सन्देश दुर्गानन्दले त्यो बेला नै प्रदर्शन गरेका थिए। तर मधेसी भएकै कारण दुर्गानन्द मरणोपरान्त पनि राज्यबाट सहिद घोषणा हुन दशकौँ पर्खिनुपर्यो। सहिद घोषणा भएर पनि सहिदसरह सम्मान पाउन सकेका छैनन्, राजनीतिज्ञ मण्डलले भने।’
२०२० माघ १५ गते दुर्गानन्द झालाई मृत्युदण्ड दिइएको थियो। २०७२ फागुन १९ गते राज्यले उनलाई सहिद घोषणा गरेको थियो। गणतन्त्रका लागि हाँसीहाँसी मृत्युदण्ड स्विकारेका दुर्गानन्द झाले सहिदका सम्मान पाउन ५२ वर्ष कुर्नुपर्यो। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो।
मधेसको दूरदेहातमा जन्मेर राजासँग फरक मत मात्र होइन, राजा नै चाहिँदैन भने साहस गर्ने पहिलो व्यक्तिका रूपमा चिनिन्छन्, दुर्गानन्द झा। झाको जन्म १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा पिता देवनारायण र माता सुकुमारीदेवी झाको एक्लो सन्तानका रूपमा भएको थियो। घरको एक्लो सन्तान भएकाले आमाबुवाले दुर्गानन्दको विवाह मेट्रिक पढ्दै गर्दा २०१७ सालमा गरिदिए। उनको विवाह काशीदेवी झासित सम्पन्न भएको थियो। दुर्गानन्दको पढाइ गाउँनजिकै पारिको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा भएको थियो।
उनी विवाहको वर्षगाँठ मनाएर गर्भवती पत्नीलाई आमासँग छाडेर लोकतन्त्रको सङ्घर्षमा होमिएका थिए। दुर्भाग्य उनको पहिलो सन्तान नै मृत जन्मे।
२०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कु’ को विरोधमा कांग्रेसले आन्दोलन सुरुवात गर्यो। प्रजातन्त्रमाथि ‘कु’ गर्ने राजा महेन्द्रको कदमविरुद्ध युवा उमेरका दुर्गानन्दको आक्रोश उत्कर्षमा थियो। भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजा महेन्द्रको जनकपुर सवारीका क्रममा बम प्रहार गर्ने योजना बनाएका थिए। २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर भ्रमणका क्रममा दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरे।
कडा सुरक्षा पहराबीचमा रहेको महेन्द्र चढेको गाडीमाथि जनकी मान्दिरमा दुर्गानन्दले बम प्रहार गरे। यद्यपि बम पड्केन, गाडीको सिसामा क्षति भयो। बम प्रहार गरेर सकुशल उम्कनसमेत दुर्गानन्द सफल भएका थिए। त्यो दिन उनी जनकपुरमै सुरक्षित बसेर बिहान भारतको उभगाँव पुगेका थिए। दुर्गानन्दकै नजिकका व्यक्तिले उनलाई राजाबाट माफी दिलाइदिने भनेर बोलाए। जयनगरबाट रेल चढेर जनकपुर आउँदै गरेका दुर्गानन्द बाटोबाटै गिरफ्तार भए। पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकोप्टरबाट काठमाडौँको केन्द्रीय कारागारमा पुर्याइएको थियो। दुर्गानन्दमाथि राज्यले राजामाथि गाँत गाँदी हालेको राजालाई मार्ने उपक्रम गरेको अभियोग लगाइयो। उनलाई मृत्युदण्डको सजाय तोकियो। तर, ब्राह्मण जातीका उनलाई मृत्युदण्ड दिन कानुनमा व्यवस्था थिएन। कानुनले ब्राम्हणलाई मृत्युदण्ड दिन रोक लगाएको थियो।
त्यो बेला राज्यले जनकपुरमा राजामाथि भएको बम काण्डको छानबिन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्च स्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले २०१९ भदौ १९ मा सरकारलाई प्रतिवेदन बुझायो।
विशेष अदालतद्वारा २०१९ भदौ १९ गते कुनै सुनुवाइ नै नगरी मृत्युदण्ड दिने फैसला सुनाइएको थियो। पञ्चायतकालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो। २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले फैसलालाई सदर गरेको थियो।
राजनीतिज्ञ मण्डल भन्छन्, ‘ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कानुन संशोधन गरेर यो देशमा मृत्युदण्ड पाउने पहिलो व्यक्ति दुर्गानन्द झा हुन्। २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरियो। जसअनुसार २०२० माघ १५ गते राति दुर्गानन्द झालाई केन्द्रीय कारागारको रूखमा झुण्ड्यार मृत्युदण्ड दिइएको थियो। राज्यले दुर्गानन्दलाई राजालाई बिन्ती पत्र लेखेर माफी मागे मृत्युदण्ड मिनाहा हुने अन्तिम समयसम्म भनिरह्यो।
तर, दुर्गानन्द झुक्न तयार भएनन्। उनले माफी भन्दा मृत्युलाई स्वीकार गरे। उनी हाँसीहाँसी जीवन त्यागे। यतिसम्म कि राज्यले दुर्गानन्दको मृत शरीरसमेत उनको परिवारलाई दिएनन् । उनको परिवार कुशलाई भारतको गयामा गएर अन्तिम संस्कार गरेका थिए।
प्रकाशित: १५ माघ २०८२ ०८:५६ बिहीबार





