२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

देश, लोकतन्त्र र नेपाली कांग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा : नेता राठोर

नेपाली कांग्रेसका नेता किशोरसिंह राठोरले देश, लोकतन्त्र र नेपाली कांग्रेस इतिहासकै संकटपूर्ण अवस्थामा रहेको बताएका छन्।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मा बुधबार आयोजित चुनावी भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठोरले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन मुलुकलाई संकटबाट निकाल्ने र सात दशक लामो अथक मेहनतबाट प्राप्त राजनीतिक व्यवस्था जोगाउने प्रमुख उपाय भएकाले निर्वाचन सफल पार्नतिर सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।

नेपाली कांग्रेसले नै अगुवाइ गरेर नेपाली जनतालाई दक्षिण एशियामा सबैभन्दा बढी अधिकारसम्पन्न बनाएको, विभिन्न विकासका कार्य अघि बढाएको र कांग्रेसका नेताकार्यकर्ताकै त्याग र बलिदानबाट मुलुकमा शान्ति स्थापना भएको उल्लेख गर्दै उनले अब पनि नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकका बाँकी कार्यभार अघि बढाइने जिकिर गरे। जनताप्रति उत्तरदायी पार्टी नेपाली कांग्रेसलाई आगामी निर्वाचनबाट थप बलियो बनाउन कांग्रेसका नेता कार्यकर्ता र शुभचिन्तक एकजुट भै गम्भीरतासाथ लाग्नु पर्ने उनले बताए। भए गरेका कामको यथार्थ मूल्यांकन गरी कांग्रेसलाई मत दिन उनले जनतालाई आग्रह समेत गरे। 

उनले बर्दियाको विकासमा विगतदेखि आफूले थालेका योजना तथा कार्यक्रमलाई निष्कर्षमा पुर्याउन तथा नयाँ योजना र कार्यक्रममार्फत् विकासमा हातेमालो गर्न आफूले यसपटक बर्दियाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको बताए।

कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार कलिराम थारुसहित एमाले तथा अन्य विभिन्न दलका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका छन्। नेता राठोरले नवप्रवेशीहरूलाई पार्टी सदस्यता, खादा, मालासहित कांग्रेसमा स्वागत गरे।

प्रकाशित: १५ माघ २०८२ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App