८ वैशाख २०८१ शनिबार
राजनीति

अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको बताएका छन्। 

नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘दसैँ अगाडि नै कार्यसमिति बैठक बोलाउनुस्, पार्टीको अधिवेशन कसरी समयमा गर्छौँ, छलफल गरौँ भनेर मैले भनेको हुँ, अहिलेसम्म कार्यसमिति बैठक बस्न सकेको छैन।’  

आफू काठमाडौं फर्केर पनि यस विषयमा पार्टी सभापति देउवालाई भन्ने बताए। ‘पार्टीको अधिवशेन हुनुपर्छ,अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको अवस्था छ,’ पौडेलले भने ‘वैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं।’ संविधानलाई कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पुरा गर्नुपर्ने उनको भनाइ छ। 

पार्टीको अधिवेशन कार्यतालिका अनुसार हुन नसकेको भन्दै वरिष्ठ नेता पौडेलले चुनावी कार्यतालिका यताउता भएपछि संकट आउन सक्न भनेर आफूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आएको बताए।  

पौडेलले आसन्न पार्टीको १४ औं महाधिवेशनमा आफू सभापतिको स्वाभाविक उम्मेदवार हुने बताए। आफ्नो टिमबाट अन्य नेताले पनि आकांक्षा राखेको भए पनि अन्तिममा एउटै उम्मेदवारको टुंगो लगाइने उनको भनाइ छ। आफू १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफ्नो टिमबाट आफूलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने आशा व्यक्त गरे। ‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं,’ उनले भने ‘केही साथीहरुको आकांक्षा कताकता सुन्नमा आए पनि सबै साथीहरुसँग छलफल गरेर एउटै उम्मेदवार टुंगा लगाउँछौं।’

कम्युनिष्ट पार्टीको नेतृत्वले राम्रो काम नगर्दा र मुलुकलाई अधिनायकवादतर्फ लैजाँदा सरकारलाई हटाउन बाध्य भएको बताउँदै अहिले कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहँदा विगतका गल्तीलाई दोर्‍याउन नहुने पौडेलले बताए। 

आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्छ कि गठबन्धन बन्छ भन्ने पत्रकारको जिज्ञासामा पौडेलले भने, ‘हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ, देशको परिस्थितिले के कुराको अनुभूति गर्दछ, त्यतिखेर नै निर्णय होला।’  

प्रधानन्यायाधीशमाथि लागेको आक्षेपलाई समयमै स्पष्ट पार्नुपर्ने उनको सुझाव छ। ‘उहाँमाथि जुन किसिमको आक्षेप लागेको छ,त्यसलाई प्रष्ट पार्नुपर्छ, चाहे प्रधानमन्त्री, चाहे प्रधानन्यायाधीश चाहे राष्ट्रपति, उहाँहरुले आफूलाई आत्मा अनुशासित राख्नुपर्छ, केही कुरा बाहिर आएपछि प्रष्ट पारेर परिस्थतिबाट सफाइ दिनुपर्छ।’ पश्चिम क्षेत्रका बाढी तथा पहिरो पीडितको अवस्था बुझ्न तथा पार्टीका नेता, कार्यकर्तालाई भेटघाट गर्न आइपुगेका वरिष्ठ नेता पौडेल बाँकेका कार्यकर्तालाई सम्बोधन गरेर सोमबार नै काठमाडौं फर्किनेछन्।  

 

फोटो क्याप्सन ः

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट ।

तस्बिर ः नागरिक  

 

प्रकाशित: ८ कार्तिक २०७८ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App