१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तहका कर्मचारीलाई गरिएको विभेदविरुद्ध मन्त्रालयमा धर्ना

स्थानीय तहका कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। स्थानीय तहका कर्मचारीको सरुवामा विभेद गरेको भन्दै स्थानीय तह कर्मचारी सरोकार फोरमले मन्त्रालयमा धर्ना दिएका हुन्। फोरमले मन्त्रालयका सचिव एक नारायण अर्याललाई ज्ञापन पत्र पनि बुझाएका छन्।

स्थानीय तहमा लामो समय सेवा गरेका कर्मचारीहरुलाई लोकसेवाबाट स्थायी नियुक्ती भएका कर्मचारी व्यवस्थापन सम्बन्धी मापदण्ड (संशोधन सहित)२०७७ बमोजिम सरुवा गर्ने भनिए पनि कार्यान्वयन नगरेको भन्दै ज्ञापनपत्र बुझाएको सरोकार फोरमका धिरज स्याङ्तानले जानकारी दिए।  

दुई स्थानीय तहबीच दोहारो सहमति सहित कामकाजको लागि खटाउने आशयसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तर निर्णय बमोजिम २०७८ वैशाख ८ देखि २० गतेसम्म मन्त्रालयले निवेदन आव्हान गरेको थियो। सरुवाको लागि करिब २ हजार २ सय कर्मचारीले निवेदन दिएपनि विविध बाहना देखाइ निवेदनको हालसम्म कुनै सुनुवाई नगरेको स्याङ्तानले जानकारी दिए।

सरुवाको लागि निवेदन दिएका केहीको भने पहुँचको आधारमा मन्त्रालयले सरुवा गरेको सरोकार फोरमको आरोप छ। ज्ञापनपत्र बुझ्दै हाल जनगणनाको समय भएकाले कुनैपनि हालतमा सरुवा नहुने मन्त्रालयका सचिव अर्यालले प्रतिक्रिया दिए। अर्यालले भने, ‘तपार्इँहरु चुपचाप कार्यस्थल फर्कनूहोस्, जनगणना सकिएको दुई दिनपछि आवश्यकताको आधारमा मन्त्रालयले सरुवा गर्छ।’

फोरमका स्याङतानले सचिव अर्यालले कर्मचारीहरुको ज्ञापनपत्र बुझेको फोटो समेत खिच्न नदिएको बताए। दुई स्थानीय तहको सहमती अनुसार सरुवाको लागि मन्त्रालय उदासिन देखिएको भन्दै स्थानीय तहका कर्मचारीहरुले मन्त्रालयमा धर्ना थालेको उनले बताए। मन्त्रालयले पहुँचका आधारमा मात्र सरुवा गर्न थालेपछि विकट तथा दुरदराजमा रहेका पहुँचविहीन कर्मचारीहरुको कुनै गुनासो सुनुवाई नहुदाँ हामी कर्मचारी दुःखित, पिडीत र मानसिक समस्यामा पर्न थालेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। मन्त्रालय आफैले प्रकाशन गरेको सूचनाअनुसार ५ महिना बितिसक्ता पनि सरुवा सम्बन्धी कामकारबाही नगरीरिनु र यस समयमा केही कर्मचारीहरुको सरुवा पत्र समेत बन्नु दुःखदायी भएको सरोकार फोरमको भनाइ छ।  

‘हामीलाई दोहोरो सहमति प्राप्त गर्न समेत सास्ती परेको बेलामा सहमति लिएर निवेदन पेश गरिँदा पनि सुनुवाई नहुँदा सरुवा सहमति दिएका कर्मचारीहरुलाई सरुवा गरी नपठाइदिन हुन भनि मन्त्रालयमा पत्राचार गर्नु, प्रदेश लोकसेवा आयोगमा रिक्त दरवन्दी पठाइनु, हाजीर नगराइनु,सरुवा भइ गएमा उपयुक्त जिम्मेवारी नदिइनु,करार सेवाबाट कर्मचारी पुर्ति गरिनु आदि कारणले मन्त्रालयमा रित पुर्याइ  दिएका निवेदनको कार्यान्वयन हुनेमा आशंका देखीएकोले हामी स्थानीय कर्मचारीको अविभावकत्व ग्रहण गर्दै तत्काल स्थानीय तहका कर्मचारीहरुको सरुवा सुचारु गरिदिन अनुरोध छ’, ज्ञापनपत्रमा भनिएको छ।  

मन्त्रालयले जनगणनाको कारण देखाई असोज १ गतेदेखि जनगणना अवधिभर सरुवा कामकाज नगर्ने भन्ने सूचना प्रकाशित गरेकोमा ज्ञापनपत्र मार्फत स्थानीय तहका कर्मचारीहरुले दुःख व्यक्त गरेका छन्। ‘सरुवा सम्बन्धी कार्य सुचारु नहुँदासम्म आजैका मितिदेखि यसै मन्त्रालयको प्रङगणमा हामी स्थानीय तहका कर्मचारीहरु धर्ना निरन्तर चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु संचालन गरिरहने व्यहोरा आदरणिय सचिव ज्यु मार्फत नेपाल सरकारलाई जानकारी गराउँदछौं’, ज्ञापन पत्रमा उल्लेख छ।

प्रकाशित: १० आश्विन २०७८ १५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App