७ वैशाख २०८१ शुक्रबार
राजनीति

जसपामा यादव समुदायकै ११ जना मन्त्रीका आकांक्षी

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) मा मन्त्रीका आकांक्षी धेरै हुँदा छनोट गर्न अध्यक्ष उपेन्द्र यादवलाई सकस भएको छ। जसपामा यादव समुदायका मात्रै ११ जनाले मन्त्रीको आकांक्षा राखेका छन्। जसपाले सरकारमा ६ वटा मन्त्रालय पाउने सम्भावना छ।

जसपा स्रोतका अनुसार अध्यक्ष यादवले यादव समुदायबाट तीन जना र गैरयादव समुदायबाट तीन जनालाई मन्त्री बनाउने सोच बनाएका छन्। गैरयादव समुदायबाट तीनजना छान्न उनलाई त्यति समस्या छैन, जति यादव समुदायबाट छान्न छ।

गैरयादव समुदायबाट राजेन्द श्रेष्ठ, इस्तियाक राई र प्रमोद साहको बलियो सम्भावना रहेको स्रोतले बतायो। राईले यसअघि आफू मन्त्री भएका मन्त्रालयमा नदोहोरिने चाहना राखेका छन्। केपी ओली नेतृत्वको सरकारमा राई सहरी विकास मन्त्री भएका थिए।ओली सरकारमा सबैभन्दा धेरै मन्त्री फेरिनेमा पनि यही मन्त्रालय थियो। राईले यसपटक भौतिक पूर्वाधार मन्त्रालयको चाहना राखेका छन्। साहलाई राज्यमन्त्री बनाउने सम्भावना रहेको स्रोतको दाबी छ।

यादव समुदायका अध्यक्ष उपेन्द्र स्वयंं, महेन्द्र यादव, राजकिशोर यादव, रामसहाय यादव, रेणु यादव, मिर्गेन्द्रसिंह यादव, प्रमिला यादव, प्रदीप यादव, सूर्यनारायण यादव, सुरेन्द्र यादव र रामबाबु यादवले मन्त्रीको आकांक्षा राखेका छन्। यीमध्ये मिर्गेन्द्रसिंह र प्रमिला राष्ट्रियसभा सदस्य हुन्। बाँकी प्रतिनिधिसभा सदस्य हुन्। महेन्द्र र राजकिशोर जसपा विभाजन हनुअघि महन्थ ठाकुरको कित्ता छाडेर उपेन्द्रतिर गएका हुन्।

रामसहाय, प्रदीप, रामबाबु अहिलेसम्म सरकारमा गएका छैनन्।उनीहरूलाई मन्त्री बनाउन अध्यक्ष यादवलाई दबाब परेको छ। यसैगरी मन्त्रीका लागि एक महिला छान्नुपर्ने बाध्यता अध्यक्ष यादवलाई छ। रेणु र प्रमिलामध्ये एकलाई छान्ने सम्भावना रहेको स्रोतले बतायो। जसपा नेता महेन्द्र यादवले मन्त्री छान्ने विषयमा पार्टीमा कुनै छलफल नभएको बताए। ‘हामी सरकारमा जाने निश्चित छ तर ककसलाई कुन मन्त्रालय दिने, हामीले कति मन्त्रालय पाउने भन्नेबारेमा छलफल नै भएको छैन,’ उनले भने।

प्रकाशित: १९ भाद्र २०७८ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App