८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस वडा अधिवेशन सुरुः ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार ४० भन्दा बढी जिल्लामा वडा अधिवेशन भएको छ। कोरोना भाइरसको संक्रमण र पार्टीको क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परिरहेका बेला शुक्रबार सुरु भएको वडा अधिवेशनमा कांग्रेसका नेता कार्यकर्ताको सक्रिय सहभागिता रहेको छ।

२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्। अधिवेशनको पहिलो दिन शुक्रबार नै ४१ जिल्लामा वडा तहको अधिवेशन भएको छ। वडा तहको अधिवेशन सुरु भएसँगै कांग्रेस नेता तथा कार्यकर्ता फेरि एकपटक तल्लो तहमा चलायमान बन्न पुगेका छन्।

 ४१ जिल्लामा वडा अधिवेशन सुरु भए पनि शुक्रबार नै सबै ठाउँमा प्रतिनिधि र वडा कार्यसमिति चयन प्रक्रिया भने सकिएको छैन। प्रदेश १ का ताप्लेजुङ, पाँचथर हुँदै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरसम्ममा वडा अधिवेशन भएको छ।

सदस्यता विवाद टुंगो लागेका ५६ जिल्लामध्ये बाँकी नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पा, बागलुङ, सल्यानसहितका जिल्लामा २१ गते, प्युठान, दाङ, कालीकोट र दार्चुलामा २२ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ। झापा जिल्लामा वडा अधिवेशन शनिबार हुने भएको छ भने नवलपुर, रुकुम पश्चिमसहितले २३ गते गर्ने निर्णय गरेका छन् । २१ जिल्लामा भने क्रियाशील सदस्यता विवाद नै टुंगो लाग्न सकेको छैन । यही विवादका कारण कांग्रेसले यसअघि तीनपटकसम्म महाधिवेशन स्थगित गरेको थियो।

वडा अधिवेशनबाट चयन हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्ने हुँदा शुक्रबारबाट सुरु भएको वडा अधिवेशनप्रति केन्द्रीय नेतृत्वको चासो हुने गरेको छ। १ सय ५० जनासम्म क्रियाशील सदस्यता रहेको वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानको व्यवस्था छ। त्यसपछि प्रत्येक सयभन्दा बढी क्रियाशील सदस्यता बराबर थप १०/१० जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्थाअनुसार कांग्रेसले एउटा वडाबाट १५ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ। 

वडा तहबाटै पूर्ण समावेशी सिद्धान्तका आधारमा प्रतिनिधि छनोटको व्यवस्था गरेको कांग्रेसले कम्तीमा ३३ प्रतिशत महिला सहभागितालाई अनिवार्य गरेको छ। न्यूनतम १५ जना प्रतिनिधि चयन हुने वडामा ९ जना खुलाबाट र बाँकी सात जना समावेशी र समानुपातिक प्रतिनिधित्वबाट निर्वाचित हुने व्यवस्थासहित पहिलो पटक समानुपातिक सिद्धान्तको अभ्यास गरेको हो।

क्रियाशील सदस्यता छानबिन समितिले बाँकी जिल्लाको विवाद समाधान गरेर सदस्यता सूची उपलब्ध गराए भदौ २७ गतेका लागि तोकिएको गाउँ र नगरपालिका अधिवेशनअघि नै बाँकी जिल्लाको अधिवेशन सक्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिको तयारी छ । सदस्यताको विवाद टुंगो लाग्न नसके भदौ २७ गतेका लागि तय गरिएको गाउँ र नगरपालिका अधिवेशन प्रभावित हुनेछ।  

त्यस्तो अवस्थामा प्रदेशसभा क्षेत्रीय अधिवेशनसहितका अन्य कार्यतालिका पनि प्रभावित हुनसक्ने नेताहरूले जनाएका छन्। कांग्रेसले पछिल्लो पटक तय गरेको कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते हुनेछ। मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको।

यसैबीच, सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गर्दै पार्टीलाई सबल बनाउने कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा पुगेर वडा अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने बताए। नेता कार्यकर्तालाई स्वास्थ्य सावधानी अपनाई अधिवेशनमा सहभागी हुन आग्रह गर्दै देउवाले भने, ‘मास्क लगाउनुस्, सामाजिक दूरी कायम गर्नुस्। कोरोनाको बेला छ। आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर महाधिवेशनमा सहभागी बन्नुस् ।’

त्यसअघि बिहान शुभकामना सन्देश जारी गर्दै देउवाले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नुपरेको उल्लेख गरेका थिए। ‘आज म निकै खुसी छु। नेपाली कांग्रेसका ८ लाखभन्दा बढी क्रियाशील सदस्य आजदेखि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी हुनुभएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोस, जाँगर र साथको अनुभूति यति बेला गरिरहेको छु,’ देउवाले भनेका छन्, ‘लोकतन्त्रको पर्यायका रुपमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैं अग्रणी साबित गर्दै आएको छ। नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधैं अगाडि छ।’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको भन्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग बलियो बनाई जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने दाबी गरेका छन्। ‘हामी १४औं महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेका छौं । पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्‍याउनुहुनेछ भन्ने विश्वास मैले लिएको छु,’ उनले भनेका छन्।

त्यस्तै, महामन्त्री शशांक कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताउँदै उनले पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने उल्लेख गरेका छन्।

नेता शेखर कोइरालाले १४औं महाधिवेशन उत्सवका रुपमा आएको उल्लेख गरेका छन्। ‘कांग्रेस पार्टीसँग आबद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्न गइरहेका छौं,’ उनले भनेका छन्, ‘यसले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ। यसरी हामी आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं।’

प्रकाशित: १९ भाद्र २०७८ ००:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App