१६ चैत्र २०८० शुक्रबार
राजनीति

लोसपा सरकारमा जान इच्छुक

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन्। आयोगले नयाँ दललाई मान्यता दिए आफूहरू सरकारमा जान सकारात्मक रहेको नेताहरूले बताएका छन्। वरिष्ठ नेता शरत्सिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए। ‘माग र मुद्दाको आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ’, भण्डारीले भने, ‘यो सरकारलाई हामीले भोट (विश्वासको मत) पनि दिएका छौं। त्यसैले सरकारप्रति हाम्रो विश्वास छ।’

ठाकुर पक्षले यसअघि प्रस्ताव गरेको नयाँ पार्टीको नाम शुक्रबार परिवर्तन गरेको छ। नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखिएको छ। यसअघि ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) राखेको थियो। आफ्नो पार्टीको नामबाट नयाँ पार्टी दर्ता नगर्न आग्रह गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिहीबार निर्वाचन आयोग पुगेका थिए। पार्टी अध्यक्ष ठाकुरले पार्टीको नाममात्र परिवर्तन गरेका छैनन्, पार्टीको कार्यकारिणी समिति २४ सदस्यबाट बढाएर ३१ सदस्यीय बनाएका छन्। 

ठाकुरले भण्डारीलाई पनि वरिष्ठ नेताको स्थान दिएका छन्। यसअघि राजेन्द्र महतोलाई मात्र वरिष्ठ नेताको स्थान दिइएको थियो भने भण्डारीलाई कार्यकारिणी समिति सदस्यमा राखिएको थियो। भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएकोमा सरकारलाई धन्यवाद पनि दिए। ‘अध्यादेश ल्याएर सरकारले निकास दिएको छ। त्यसैले सरकारप्रति हामी सकारात्मक छौं’, भण्डारीले भने। आफूहरूले उठाएका माग पूरा गर्ने आश्वासन दिएको उनले बताए।  

लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूहरूले उठाएका माग सम्बोधन गरिएको बताउँदै पार्टी सरकारमा जाने प्रष्ट पारे।

‘निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादीलाई दलको मान्यता दिएपछि हामी सरकारमा जान्छौं’, झाले भने, ‘हामीले उठाएका माग र मुद्दा सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा सम्बोधन गरिएको छ।’

शुक्रबार आयोगमा पुगेर पार्टीको नाम फेरेलगत्तै नेताहरू अनौपचारिक छलफलमा बसेका थिए। स्रोतका अनुसार पुरानो राष्ट्रिय जनता पार्टीमा आबद्ध भएका पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ पार्टीमा एकीकृत गर्ने रणनीति ठाकुर पक्षले बनाएको छ। ‘बाटो बिराएर गएका हाम्रा साथीहरूलाई लोसपामा भिœयाउन पहल गर्छौं’, झाले भने।  

पुरानो राजपा अध्यक्षमण्डलका २ जना सदस्य महेन्द्र यादव र राजकिशोर यादव उपेन्द्र यादवको पार्टीमा छन्। संसदीय दलमा पुरानो राजपाका १६ र पुरानो समाजवादीका १६ जना छन्। संसदीय दलमा ठाकुरनिकट कम्तीमा ५ जना सांसद पनि यादव पक्षमा पुगेका छन्। ती सांसदलाई फर्काउन ठाकुर पक्षका नेताहरूले पहल गर्ने भएका छन्।  

लोसपाका नेताहरूमध्ये अधिकांश पुरानो राजपाका हुन्। पुरानो समाजवादी पार्टीका उमाशंकर अगरगरैया, विमल श्रीवास्तवलगायतका केही नेता ठाकुरतिर गएका छन्। नेता महतोसँग लामो समयसम्म काम गरेका मनिष सुमन तथा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह यादव पक्षमा पुगेका छन्। ठाकुरसँग निकट भएका कारण गत जेठमा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीबाट हटाइएका सुरेश मण्डल पनि जसपा केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

प्रकाशित: ५ भाद्र २०७८ ००:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App