वरिष्ठ नेता नेपाल पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एमाले अध्यक्ष ओलीले पार्टी विभाजन नभई चोइटिएको बताएका छन्। भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा ओलीले केही व्यक्ति चोइटिएर गएको बताए।
नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौराजत्रो हुन पुगेको बताउँदै ओलीले नेपालको कार्यकालमा एमाले सडक र संसद् दुवै मोर्चामा खुम्चिएको दाबी गरे। नेपाल पार्टीको नेतृत्वमा रहँदा होस् वा सरकारको नेतृत्वमा रहँदा, पार्टीलाई सिध्याउने भूमिकामा केन्द्रित रहेको दाबी ओलीले गरे।
उनले आफूले एकताका लागि बारम्बार प्रयास गर्दा पनि नेपालले पार्टी फुटाउने उद्देश्य राखेकै कारण एकताको प्रयास सार्थक हुन नसकेको बताए। नेपालले सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदाहुँदै माओवादीलाई काँधमा बोकेर सरकारको नेतृत्व सुम्पिएको, कर्णाली प्रदेशमा आफ्नो पार्टीको प्रस्ट बहुमत हुँदाहुँदै पनि नेपालले नै एमालेका चार सांसदलाई फ्लोर क्रस गराएर पार्टीको सरकार बन्न नदिएको आरोप पनि ओलीले लगाए।
‘नेकपा एमालेको सरकार प्रतिगामी हो, एमालेको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाइपाऊँ भनेर राष्ट्रपतिकोमा हस्ताक्षर गरेर जाने, सर्वोच्च अदालतमा पनि ओलीको सरकार अपदस्थ गरिपाऊँ, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिपाऊँ भनेर जाने,’ ओलीले भने। उनले विभाजनतिर नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्दै नयाँ दल दर्ताका लागि हस्ताक्षर गर्नेहरूलाई पनि पार्टीमा फिर्ता भएर जिम्मेवारी सम्हाल्न आग्रह गरे।
प्रकाशित: ४ भाद्र २०७८ ०३:४४ शुक्रबार



-600x400.jpg)

