१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘महेश बस्नेत विक्षिप्त मानसिकताका उदाहरण हो’

लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले दिएको धम्कीबाट आफू विचलित नभएको बताएका छन्। सोमबार उनले महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र भएको तर्क गरेका थिए।

‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो,’ उनले भने, ‘नागरिक अधिकारको सुनिश्चितताको निम्ति म सडक आइरहनेछु। त्यस्ता धम्कीले मलाई केही हुँदैन। किनभने स्वतन्त्रताको पक्षमा हक्की भएर बोल्नेहरूलाई सधैं यस्ता धम्की आउने इतिहास छ। महेश बस्नेतबाट आएको धम्कीले नेपाली समाजको दक्षिणपन्थी अपराधीकरण, दक्षिणपन्थी असहिष्णुता र प्रतिशोध टुंगिएको छैन। अझै यसको इतिहास लामो छ भन्ने देखाउँछ।’

तर अहिलेको परिस्थितिमा अराजक युवाहरूले जेपनि गर्न सक्ने भएकाले प्रगतिशील लेखकहरू सजग हुनु आवश्यक रहेको उनको बताएका थिए। ‘अहिले अराजक युवाहरूले जे पनि गर्ने भएकाले हामी सजग हुनुपर्छ,’ उनले भने, ‘म एक जनालाई मात्र नभएर सबै नागरिक अभियन्ता र बौद्धिकहरूलाई उनीहरूले निशाना बनाएका छन्। अस्तिसम्म केपी ओली र उनका पक्षधरलाई सिंगो समाजको सत्य हामीले बोलेका छौं, सिंगो समाजको कल्याणको प्रतिनिधित्व हामीले गरेका छौं र हाम्रो आयु अनन्त छ भन्ने लागेको थियो। तर सर्वोच्च अदालतको पछिल्लो आदेशले त्यो भत्काइदियो। आफूले कल्पनै नगरेको निर्णयपछि एमालेमा एक किसिमको विक्षिप्तता उत्पन्न भएको छ। महेश बस्नेतको तह लगाउने धम्की त्यही विक्षिप्त अवस्थाको उदाहरण हो।’

उनले आइतबार उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई धम्की आएको सार्वजनिक गरेका थिए। उनले ट्वीट गरेका थिए, ‘शाही निरंकुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए। तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर !’

गत असार २८ गते सर्वोच्च अदालतको आदेशपछि एमाले अध्यक्ष केपी शर्मा ओली पदच्यूत भएका थिए। प्रधानमन्त्री पदबाट हटाइएलगत्तै उनले एमाले पार्टीको युवा संघले लडाकु दस्ता युथ फोर्स ब्युँताएको घोषणा गरेको थियो। राजधानीको चावहिल निवासी ७४ वर्षीय लेखक संग्रौलाप्रति लक्षित गर्दै शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणा सभामा एमाले नेता महेश बस्नेतले भनेका थिए, ‘अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउनेछ।’ लेखक संग्रौलालाई धम्याएको विरोधमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

प्रकाशित: १२ श्रावण २०७८ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App