इटहरी उपमहानगरपालिका शिक्षा समितिको बैठकले जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र सदस्य तोकेको विषयमा विवाद बढ्दै गएपछि सम्बन्धित वडाका वडा अध्यक्षहरूले अभिभावक र सरोकारवालाको माग सम्बोधन गर्न दबाब दिएका छन्। विद्यालय रहेको वडा नं. ६ र ९ का वडा अध्यक्ष दिवस पोखरेल तथा जितेन्द्र थापाले अभिभावक र सरोकारवालाको आवाज सम्बोधन गर्न आग्रह गरेका हुन्।
वडा अध्यक्षद्वय पोखरेल र थापाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षा समितिले अभिभावकको अपनत्व र परामर्शबिना नेतृत्व लाद्ने काम गर्नु गलत भएको बताएका छन्। शिक्षा समितिले तीन पटकसम्म अभिभावक भेला टुंग्याउन नसकेपछि अन्तिम पटक ६४ जनाले उम्मेदवारी दर्ता गराएको आधारमा तिनैमध्येबाट अध्यक्ष र सदस्यलाई यही वैशाख २५ गतेको बैठकले तोकेको थियो।
जनता माध्यमिक विद्यालयमा २०८२ वैशाख २ गतेदेखि अध्यक्ष काशीनाथ दंगाल नेतृत्वको समितिको कार्यकाल सकिएपछि विद्यालय व्यवस्थापन समिति विहीन भएको थियो। समिति गठनका लागि गत मंसिर १७ गते, पुस ४ गते र फेरि पुस १७ गते अभिभावक भेला डाकिएको थियो। कुल ३ हजार ११४ अभिभावकमध्ये पहिलो र दोस्रो भेलामा झण्डै तीन सय हाराहारी मात्र उपस्थित भएपछि कोरम नपुगी बैठक स्थगित भएको थियो। तेस्रो भेलामा भने ६४ जनाले उम्मेदवारी दर्ता गराएका थिए। जसमा चार जनाबीच सहमति हुन नसक्दा व्यवस्थापन समिति गठन हुन सकेको थिएन। यही आधार मानेर मेयर हेमकर्ण पौडेलको अध्यक्षतामा रहेको १६ सदस्यीय शिक्षा समितिले अध्यक्ष र सदस्य टुंग्याएको थियो।
शिक्षा समितिले अध्यक्ष र सदस्य चयन गरेपछि अभिभावकहरूले सोमबार उपमहानगरपालिका अगाडि भेला भएर केहीबेर प्रदर्शन गरेका थिए। त्यसपछि मेयरको सचिवालयसँगै शिक्षा समितिलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। समिति चयन भएपछि चौतर्फी विरोध भइरहेको छ।
यही क्रममा वडा अध्यक्षद्वय पोखरेल र थापाले वडा कार्यालय र अभिभावकको समन्वयबिना व्यवस्थापन समिति तोकिँदा सामाजिक प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई गलत दिशातर्फ निर्देशित गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
जनता माध्यमिक विद्यालयका दुईवटा ब्लक रहेका छन्। जसमा अलग–अलग स्थानमा वडा नं. ६ र ९ पर्छन्। दुवै जना वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य हुन्।
“समितिका पदेन सदस्य हामीलाई नै कुनै जानकारी छैन। विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्दा हामीले गएर जवाफ दिएका छौँ। अहिले विधि र प्रक्रिया नै नपुर्याई समिति बनाइएकोमा हामी अचम्मित भएका छौँ,” वडा अध्यक्ष पोखरेलले भने।
२०७५ सालदेखि दुई कार्यकाल अध्यक्ष भइसकेका दंगाललाई शिक्षा समितिबाट तेस्रोपटक अस्थायी रूपमा पुनः अध्यक्ष बनाइएको थियो। दंगाल नेकपा एमाले निकट मानिन्छन्।
त्यस्तै, शिक्षा समितिले कांग्रेसका विमल नेपाल र मञ्जु कठायतलाई सदस्य तोकेको थियो भने नेपाल कम्युनिस्ट पार्टीबाट नैनकला सिटौलालाई सदस्य बनाइएको थियो। शिक्षा समितिले विद्यालयका शिक्षक प्रतिनिधिसमेत नगेंद्र अधिकारीलाई तोकेर पठाएको थियो।
दंगाल २०७५ मा पहिलोपटक अध्यक्ष बनेका थिए। पहिलो कार्यकाल सकिएपछि तत्कालीन मेयर द्वारिकलाल चौधरीले केही समय थप गरेका थिए। त्यसपछि २०७९ वैशाख ३ गतेदेखि दोस्रोपटक दंगाल अध्यक्ष बनेका थिए।
प्रकाशित: २९ वैशाख २०८३ १६:४५ मंगलबार





