coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली संकटका कारक: विपक्षी

लोकतन्त्रको रक्षाका पक्षमा उभिन सञ्चारजगत्लाई आह्वान

विपक्षी गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम गरेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको पक्षमा उभिन सञ्चारजगत्लाई आह्वान गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा नेपालले बिहीबार सम्पादकहरूसँग भेट्दै राष्ट्रिय हित संरक्षण र लोकतन्त्रको रक्षाका निम्ति संयुक्त मोर्चा बनाएर अघि बढेको बताएका हुन्।

प्रधानमन्त्री ओलीको शासकीय अहंकार, स्वेच्छाचारी निर्णय र कामका कारण संविधानसभाबाट जारी भएको संविधान र मुलुक नै संकटमा परेको भन्दै सबै मिलेर यसलाई जोगाउनुपर्नेमा शीर्ष नेताहरूले जोड दिए। ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘प्रतिनिधिसभाका बहुमत १ सय ४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबी ग¥यौं। स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ।’

लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरू अदालत गएको दाबी गर्दै देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्रको रक्षा र जनतालाई महामारीबाट बचाउने उद्देश्यका साथ पाँच राजनीतिक दलको संयुक्त मोर्चाका साथ अग्रसर भएको जनाए। सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदायलाई नेपालको संविधानमा उल्लिखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिका आधारमा सुमधुर सम्बन्ध कायम गर्न आफूहरूले चाहेको पनि देउवाले जनाएका छन्। निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षड्यन्त्र चिर्दै संविधान रक्षामा जुटौं भन्ने आह्वानका साथ राजनीतिक दलहरू, सञ्चारमाध्यम, विभिन्न पेसा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच बृहत्तर सहकार्यको पक्षमा आफूहरू जुटेको देउवाले जनाए।

राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरि राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानुनी शासन र समृद्धिलाई आफूहरूले साझा गन्तव्यका रूपमा लिएको देउवाले बताए। ‘देशमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा अन्योल समाप्त गरी नेपाली जनताको लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्ने संकल्पका साथ हामी राजनीतिक र कानुनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं,’ देउवाले सम्पादकहरूसँग राखेको लिखित धारणामा भनिएको छ, ‘यस सन्दर्भमा आवश्यक परे हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्नेछौं।’

विभिन्न कालखण्डमा निरंकुश शासन व्यवस्थाविरुद्ध तथा लोकतन्त्रको पुनःस्थापनाका लागि नेपाली जनताको आन्दोलनमा राज्यको चौथो अंगका रूपमा स्थापित नेपाली सञ्चार जगत्ले महŒवपूर्ण योगदान गरेको भन्दै देउवाले नेपाली प्रेसले लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पहरेदारको भूमिका निर्वाह गरेको चर्चा गरे।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक गम्भीर संकटमा भएकाले त्यसलाई भड्खालोमा पर्नबाट जोगाउनुपर्ने आग्रह गर्दै पाँच दलको संयुक्त आन्दोलनबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरे। आफूहरूको आन्दोलन स्वाधीनताको रक्षाका निम्ति भएको समेत उनले बताए। ‘केपी शर्मा ओलीले देशलाई दक्षिणपन्थी बाटोमा लैजान खोज्नुभएको छ,’ नेपालले भने, ‘हामी देशलाई सही बाटोमा लैजान चाहन्छौं।’

ओलीले गल्ती स्वीकार गरेर आए मात्र स्वीकार गर्न सकिनेसमेत नेपालले बताए। ‘देशलाई कसैले पनि पछाडि लान खोजेको छ भने त्यो स्वीकार्य छैन,’ उनले भने। नेपालभन्दा अघि बोल्दै जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालमा जहिल्यै लोकतन्त्रमाथि आक्रमण भएको उल्लेख गर्दै २०१७ सालमा राजा महेन्द्र, २०६१ सालमा राजा ज्ञानेन्द्र र अहिले ओलीले संसद् विघटन गरेर निरंकुशता लाद्न खोजेको आरोप लगाए। ओलीलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र संविधानमा विश्वास नभएको पनि उनले बताए। संसद्मा विश्वासको मत गुमाएपछि फेरि कतै पनि प्रधानमन्त्री हुने उदाहरण नभएको उल्लेख गर्दै यादवले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा सन्देहास्पद भूमिका भएको बताए।  

विपक्षी गठबन्धनका अर्का नेता राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल नेपालमा आएर प्रधानमन्त्री ओलीलाई भेटेपछि संसद् विघटनलगायत राजनीतिक गतिविधि भएको बताए। अहिलेको संसद् विघटन हिजो शेरबहादुर देउवा वा माधवकुमार नेपालका पालामा भएजस्तो नभएको पनि उनले बताए।  

सम्पादकहरूले उठाएका प्रश्नसमेतलाई समेट्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सबै नेता उस्तै हुन् भनेर व्याख्या नगर्न आग्रह गरे। हिजो आफू प्रधानमन्त्री हुँदा सरक्क छोड्न तयार हुने र आज कुनै हालतमा कुर्सी छोड्न नचाहने ओली उस्तै नभएको उनको जिकिर थियो। दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा ओलीभन्दा कैयन् गुणा वामपन्थी र लोकतान्त्रिक भएको बताए। माधवकुमार नेपालले गणतन्त्रका निम्ति आफूलाई तत्पर गराउँदा ओली त्यसविरुद्ध रहेको पनि उनले बताए। ‘त्यो बेला ओली के गर्दै हुनुहुन्थ्यो, सबैलाई थाहा छ,’ दाहालले भने। लोकतन्त्रका निम्ति भूमिका निर्वाह गर्ने दलहरू नै अहिले विपक्षी गठबन्धनमा रहेको दाहालले बताए। अहिलेको विपक्षी गठबन्धन संविधान र लोकतन्त्रका निम्ति भएको र कुनै व्यक्तिलाई प्रधानमन्त्रीबाट हटाउन र आफू बन्न मात्र केन्द्रित नभएको पनि उनले बताए।

प्रकाशित: ११ असार २०७८ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App