८ वैशाख २०८१ शनिबार
राजनीति

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा तत्काल तीन मन्त्रालय

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा ग्रामिण तथा सहरी बिकास मन्त्रालय स्थानान्तरण भैसकेको छ। भलै स्थायी राजधानीमै स्थापना भएको यो मन्त्रालयमा अहिले सम्म मन्त्री तथा कर्मचारीहरु कोहि पनि आईसकेका भने छैनन्। यो संगै थप दुई मन्त्रालय तत्कालै स्थानान्तरणको तयारी भैरहेको छ।  

राजधानीका लागि भौतिक पूर्वाधार निर्माणमा खटिएको प्रदेश पूर्वाधार बिकास प्राधिकरणका अनुसार स्थायी राजधानीमा थप दुई मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भुमि ब्यवस्था सहकारी तथा कृषि मन्त्रालय स्थानान्तरणको अन्तिम तयारी भैरहेको छ। ‘एउटा मन्त्रालय त गत बैशाखमै आईसकेको हो, तथापी मन्त्री र कर्मचारीहरु भने अँझै आईसक्नु भएको छैन,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले भने ‘यो संगै थप दुई मन्त्रालय पनि तत्काल स्थानान्तरण भैहाल्छन।’

उनका अनुसार आगमी आर्थिक बर्षको सुरुवात देखिनै यि दुई मन्त्रालय स्थायी राजधानीमा स्थानान्तरण भैसक्ने छन् । यसैगरि यहाँ सारिएको  ग्रामिण तथा सहरी बिकास मन्त्रालयमा पनि नयाँ आर्थिक बर्ष देखिनै मन्त्रालयको कामकाज सुरु भैसक्ने छ । ‘आगामी आर्थिक बर्षको सुरुवात देखिनै स्थायी राजधानीमा तीन वटा मन्त्रालयको काम सुरु भैसक्ने गरि स्थानान्तरण हुने छन्,’ मजगैयाँले भने ।  

उनका अनुसार आन्तरि मामिला तथा कानुन मन्त्रालय स्थायी राजधानीमा रहेको राप्ती प्राविधिक शिक्षालयको भवनमै सञ्चालन हुने छ भने कृषी मन्त्रालय भने बाहिरको भवनमा सञ्चालन गर्ने तयारी गरिएको छ। राप्ती प्राविधिक शिक्षालयको भवन तथा जग्गा प्रदेश सरकारलाई उपभोगको अधिकार संघीय सरकारले यसअघिनै दिईसकेको छ। ‘आन्तरिक मामिला तथा कानुन मन्त्राले राप्ती प्राविधिक शिक्षालयको कम्पाउण्ड भित्रै रहेको भवनमा सञ्चालन गरिने छ,’ मजगैयाँले भने ‘कृषि मन्त्रालय भने बाहिरको भवनमा सञ्चालन गरिने छ।’

आगामी आर्थिक बर्षको सुरुवातमै तीन मन्त्रालयको कामकाज स्थायी राजधानीबाटै हुने भएपछि स्थायी राजधानी कार्यान्वयनको बिषय धेरै अगाडी बढ्ने छ । त्यसोत, तीन मन्त्रालय स्थानान्तरणसंगै स्थायी राजधानीमै प्रदेशसभा तत्कालै सञ्चालन गर्ने गरि काम अगाडी बढेको छ। राजधानीको भौतिक उपस्थिती निर्माण गर्नका लागि बनेको प्रदेश पूर्वाधार बिकास प्राधिकरणले प्रदेशसभा भवनको काम तिब्र रुपमा भैरहेको जनाउँछ। भलै लकडाउनका कारण केहि समस्या भएको भएपनि निर्माणको काम नरोकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैयाँले जानकारी दिए।  

‘लकडाउनका कारण निर्माणमा केहि समस्या भएको भने हो, तर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएरै भएपनि काम गरिएको छ, रोकिएको छैन,’मजगैयाँले भने ‘हामीहरु चाँडै निर्माणको काम सक्ने गरि लागि परेका छौँ ।’ उनका अनुसार अहिले प्रदेशसभा भवनको ढलानको काम भैरहेको छ । आगामी दशैँ अगावै प्रदेशसभा भवन निर्माण सक्ने योजना प्राधिकरणको छ । भलै आगामी असार सम्म निर्मााणको काम सम्पन्न गर्ने गरि योजना निर्माण सम्झौता भएको थियो । ‘आगमी असार सम्म निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएको हो, तर लकडाउनका कारण केहि काम प्राभावित भयो र ढिलाई हुने भयो,’ मजगैयाँले भने ‘आगामी दशैँ अगावै निर्माण काम भने सकिन्छ।’

यो अवधि सम्म निर्माण सम्पन्न गरेर प्रदेशको आगामी हिउँदै अधिवेशन स्थायी राजधानीमै सुरु गर्ने तयारी सरकारले गरेको छ । ‘प्रदेशसभाको हिउँदे अधिवेशन स्थायी राजधानीमै चल्ने छ ,’ मजगैयाँले भने ‘ हिउँदे अधिवेशन यहिँ सञ्चालन गर्ने लक्षका साथ प्राधिकरणले काम गरिरहेको छ।’

प्रकाशित: २५ जेष्ठ २०७८ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App